त्रिभुवन विमानस्थलमा यात्रुको भीड, स्वास्थ्य मापदण्डको पालनामा बेखबर « Image Khabar


त्रिभुवन विमानस्थलमा यात्रुको भीड, स्वास्थ्य मापदण्डको पालनामा बेखबर


Border circle
Imagekhabar

काठमाडौं । दैनिक हजारौं यात्रुको चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका यात्रुहरु स्वास्थ्य मापदण्ड पालनामा बेखबर जस्तै देखिने गरेका छन् ।

विमान कम्पनीहरुले फेससिल्ड हटाएसँगै यात्रुहरु सामाजिक दूरी पालनामा समेत लापरवाही गर्न थालेका छन् । यद्यपि विमानस्थलमा रहेको हेल्थ डेस्कका प्रतिनिधि पहिलाभन्दा यात्रुहरु आफ्नो स्वास्थ्यप्रति सचेत रहेको दावी गर्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको चापाचाप छ । कोभिडको संक्रमणपछि हवाई यात्रा गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने नियम छ । अधिकांश यात्रुको मुखमा मास्क देखिएपनि भौतिक दूरी कायम गर्न चुकेका देखिन्छन् ।

सरकारले व्यवस्था गरेको हेल्थ डेस्कमा शरीरको तापक्रम नाप्ने र हातमा स्यानिटाईजर दलेर भित्र पस्नुपर्ने नियम छ । हेल्थ डेस्कमा काम गर्ने प्रतिनिधिको अनुभवमा यसअघिको संक्रमणभन्दा अहिले यात्रुहरुमा स्वास्थ्यप्रति चेतना आएको छ ।

यात्रुहरुको भौतिक दूरी पालना गराउन यहाँका कुर्सी र भूइँमा संकेत राखिए पनि त्यसप्रति कसैको ध्यान गएको देखिदैन । टिकट काउन्टरमा अत्यासलाग्दो भीडभाड देखिन्छ । भौतिक दूरी कायम गराउन न कसैले प्रयास गरेको छ, न यात्रु आफैं सचेत छन् ।

जाने मात्र हैन, आउने यात्रुको भीड पनि उस्तै छ । विमान कम्पनीहरु स्वास्थ्य मापदण्ड पालना गराउने तर्फ गम्भीर हुन छोडेको प्रमाण उनीहरुले पाउँदै आएको फेससिल्ड गुमाउनु पनि हो । कोभिडबाट मर्ने र संक्रमित हुनेको संख्या कहालिलाग्दो अवस्थामै रहेको बेला बसपार्क, विमानस्थलमा देखिएको यो लापर्वाही क्षम्य छैन ।

प्रतिक्रिया दिनुहोस्