६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


महिला उद्यमीहरूको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

अर्थतन्त्रको शिथिलता अन्त्य गर्नुपर्नेमा जोड

0
Shares

काठमाडौं । महिला उद्यमीहरुको ५औं अन्तर्राष्ट्रिय व्यापार मेला भर्चुअल माध्यमबाट सुरु भएको छ । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको महिला उद्यमीहरुको ५औं अन्तर्राष्ट्रिय व्यापार मेलाको बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।

भर्चुअल माध्यमबाट मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिला उद्यमीहरुको समस्या सरकारले सुन्ने बताउनुभयो । उहाँले सबैको सहकार्यमा नेपालको अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्नुपर्ने बताउनुभयो । मुलुकको समग्र विकासका लागि उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने र त्यसनिम्ति सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।

महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष निरु रायमाझी खत्रीले महासंघले विगत चार वर्षदेखि भौतिक उपस्थितिमा प्रदर्शनी गर्दै आएको भएपनि यसवर्ष कोरोना संक्रमणको महामारीका कारण भर्चुअल माध्यमबाट गर्नुपरेको बताउनुभयो ।

मेलामा हस्तकला, कृषि र खाद्य, व्यापार, सेवा गरी चार किसिमका वस्तुहरुको प्रदर्शनी हुने उहाँले जानकारी दिनुभयो । भर्चुअल माध्यमबाट हुने प्रदर्शनीमा महिला उद्यमीहरु सहभागी हुने र अनलाइन मार्फत् महिला उद्यमीले उत्पादन गरेका सामग्रीहरुको प्रचार प्रचार गरिने उहाँले बताउनुभयो । मेला भदौँ २१ गतेसम्म चल्ने जनाइएको छ ।