डोलराज रानाभाट
चितवन । जिल्लाको कालिका नगरपालिका–१० का बमबहादुर चेपाङलाई गाउँको कोही पनि बिरामी नपरे हुन्थ्यो भन्ने लागिरहन्छ । त्यतिमात्रै होइन शहरमा जानुपर्ने काम नै नपरे हुन्थ्यो झैँ लाग्छ । बिरामी भए वा बजारमा काम परे ज्यानै जोखिममा राखेर खोला तनुपर्ने बाध्यता उनीहरूलाई छ ।
गाउँमै अटो चलाउँदै आएर गुजारा गरी रहेका उनले खोलाको पुल सञ्चालनमा नआएपछि खोला वारीका यात्रुलाई खोलापारीसम्म पु¥याउन पाउनुभएको छैन । असार १७ गते आएको बाढीले पक्की पुल जोड्न राखिएको जालीनै बगाएपछि स्थानीयहरू अहिले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यतामा छन् ।
दुई महिना बित्दासमेत सहज आवतजावत गराउन न त स्थानीय सरकारले पहल गरेको छ न प्रदेश सरकार र ठेकेदार पक्षले नै ? लामो समयसम्म बाटो मर्मत नहूँदा बिरामीलाई उपचारका लागि भरतपुर ल्याउन समस्या भइरहेको छ भने खोला तर्दा ज्यानै जाने हो की भन्ने जोखिम भएको कालिका ११ का दिनेश प्रजाको दुःखेसो छ ।
कालिका–१० का कृष्णबहादुर प्रजा २०५४ मा साविक सिद्धि गाविसको अध्यक्ष थिए । तर, उनी अहिले आफैँ बाढीपीडित भएर बस्नुपरेको छ । सरकारले यहाँका जनताको दुःख कहिले देख्ला भन्दै जतिसक्दो चाँडो सडक र पुल बनाइदिन उनले माग गरेका छन् ।
२०६९ मा साउन महिना प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई सिद्धि आउनुभएको थियो । खोला बढेर ट्याक्टरबाट तर्नुपरेको बाध्यतापछि उक्त खोलामा पक्की पुल निर्माणको काम सुरु भएको बताउँछन्, चेपाङ समुदायका अभियन्ता केपी किरण शर्मा । भरतपुरको डाइनामिक कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको पक्की पुल ३५ मिटर लम्बाइ र ८ दशमलव ४ मिटर चौडाइको छ ।
३ करोड ७९ लाख २५ हजार रुपैयाँ लागतमा बन्ने पुल निर्माण गर्न २०७७ असार ३० गते सम्झौता भइ यसै वर्षको पौष २९ गते सक्ने लक्ष्य रहेको थियो । तर, पुलमा पुग्ने बाटोनै नहुँदा सास्ती र जोखिम दुवै रहेकाले यहाँका स्थानीयको व्यथा पनि तत्काल पूरा हुने देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्