दक्षिणपन्थी ‘ओल्बा’ र वामपन्थी ‘देउवा’ « Image Khabar


दक्षिणपन्थी ‘ओल्बा’ र वामपन्थी ‘देउवा’


Border circle
Imagekhabar

पेशल आचार्य

एमालेका भोटरलाई छाडेर कार्यकर्ता पङ्क्तिका या भनौ न दुई चारचोटी ओलीसँग सेल्फी खिच्न भ्याइसकेका लगभग खातापिता या पुराना धनाढ्य प्रवृत्तिका कार्यकर्ताहरू ‘माया’ गरेर हो या किन हो नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ‘ओल्बा’ भन्दा रै’छन् । यो सम्बोधनमा अपनत्व छ क्यार ! ठिटौले लवज बोल्दा ‘सेक्स अपिल’ समेत छ । ओलीसँग आफ्नो निकटस्थ देखाएर थुप्रै सुविधा जिब्ट्याउने मकसदहरू समेत राखेका होलान् ‘ओल्बा’ भनेर भित्रिया कार्यकर्ताहरूले । त्यतिसम्म चाह राख्नु कुनै गलत त होइन नि ।

तर यहाँ उठाउन खोजिएको कुराचाहिँ ‘ओल्वा’ भन्ने प्रवृत्ति एउटा वैचारिक अझ कम्युनिष्ट पार्टीको राजनीति गर्ने युवाहरूले आफ्नो पार्टीका नेतालाई त्यसरी थकाली खाले ‘निकनेम’ बाट सम्बोधन गर्नुको अन्तर्य भने ओलीको पार्टी राजनीतिमा ‘एकछत्त राज’ र ‘माधव–प्रचण्डलाई दपेटेको’ सान हुँदै शनैःशनैः उनी सरकारबाट हट्नु अघिको पछिल्लो समयमा यस्ता सम्बोधनहरू छ्यापछ्याप्ती नै देखिए । पार्टीभित्र रहेकालाई यो सम्बोधन बेसै लाग्थ्यो होला तर हामी बाहिरबाट सुन्नेहरूचाहिँ कस्तोकस्तो दिगमिग दिगमिग लाग्थ्यो ।

अन्तर्वार्तामा, पार्टीका कार्यक्रममा या अन्य सार्वजनिक जीवनमा पनि ओल्बालाई धेरै युवायुवतीहरूले मन पराएको पाइयो । खासगरी त्यो गत वर्ष हिउँदमा जतिखेर उखु किसान माइतीघर मण्डलमा चिनीको आँसु रुँदै थिए त्यही बेला सरकारले विपक्षीलाई गाली गर्नैका लागि सरकारी ढुकुटी दोहन गरी राजदरबार अघि गरिएको कार्यक्रमपछि नै घनिभूत रूपमा बढेको देखियो ।

कसले सम्बोधन ग¥यो, कसले गरेन त्यो ठूलो कुरा होइन । मूलभूत रुपमा जब ओलीलाई उनका केही सिमित सल्लाहकारहरूले बाँकी नेकपाका नेताहरूलाई पेलेर लैजाने सल्लाह दिए त्यसपछि भने उनी ‘ओल्बा’ को सिँढी चढ्दै ‘मिनी तानाशाह’ का रूपमा चित्रित हुँदै गएका हुन् । खासगरी भारतीय समकक्षी मोदीसँग जोरी खोज्नेक्रममा जब चितवनको अयोध्यापुरीमा उनले रामको जन्मस्थानबारे बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा अन्टसन्ट बोले त्यसपछि केही पत्रिका र सम्पादकहरूले उनको कम्युनिष्ट दर्शनमा मुच्का लागेर अब ओली रामलक्ष्मण बोकेर पशुपतितिर जलहारी चढाउन पुगेका हुन् भनेर खुलेर विरोधै गरे ।

कम्युनिष्ट पार्टी सर्वहाराहरूका हितका लागि खोलिएको पार्टी हो । अहिले बाटो बिराएर मात्रै हो नत्र नेपालमा समेत सोही उद्देश्य राखेर स्थापना गरिएको हुनुपर्छ । नेपालमा यतिखेर एक दर्जनजति कम्युनिष्ट पार्टीहरू लहरै क्रियाशील छन् । तर संसदमा भने एमाले, माओवादी र नवीन एमाले एकीकृत समाजवादी नामका राष्ट्रिय पार्टीका रूपमा तीनवटा, चित्रबहादुर केसीको संयुक्त जनमोर्चा र नारायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टी राष्ट्रिय पार्टीको हैसियत नपाएका पार्टी गरी पाँचवटा पार्टीहरू छन् । संसद बाहिर भने वैधको, विप्लवको, आहुतीको, गोपाल किराँतीको र ऋषि कट्टेलको गरी पाँचैवटा पार्टीहरू रहेका छन् । तिनीहरू पनि क्रियाशील छौं भन्छन् ।

निर्वाचन आयोगमा दर्ता भएका र जनताले उतिसारो नाम नसुनेका अरू पनि एकादुई पार्टी हुन सक्छन् । यसरी एक दर्जन कम्युनिष्ट पार्टीहरू चलायमान भएको देशमा ओलीले करिब दुई तिहाई सिट संसदमा ल्याउँदा समेत श्रमिक, मजदुर, किसान, गरिब, निमुखा, परिश्रमी र मिहिनेतकश जनताका हितमा देखिने गरी केही लछारपाटो लाउने काम भएनन् ।

प्रपोगाण्डाका महाराजा ओलीले कि अति महत्वाकांक्षा बोकेका कार्यक्रमहरू जनताका दिमागमा घुसाउने काम गरे कि आफ्ना चेलाचपेटा, ठेकेदार हुलियाका कार्यकर्तालाई पेटी बुर्जुवाको हाइटमा उकास्नका लागि कट्किन्दार बनाएर चारैतिर भ्यु टावर, सालिकहरू र कमाइ हुने खाले ठेकेदारी प्रवृत्तिका निर्माणका काम दिने योजना बुने । चुरे बेचेर चुनाव खर्च उठाउने उनको सपना सरकार तुहिएसँगै नराम्ररी गल्यो । चाइना, भारतीय, मोनो र मेट्रो रेलका आधारशीला अहिलेसम्म कतै पनि शुरू भएको सुन्नमा आएनन् । स्वीच थिचेर बालुवाटारबाट १४५ वटा स्थानीय तहमा शिलान्यास गरेका अस्पतालका जगमा बाढी र पैरोका लेदोले भरिएका छन् ।

जब प्रचण्डसँग उनको पावर सेयररिङ् सवालमा झगडा शुरूभयो अनि त्यहाँदेखि उनी ‘वान मेन आर्मी’ भूमिकामा देखिए । त्यतिखेर उनीबाहेक कुनै हाँचका नेताहरूले न प्रचण्डको डिफेन्स गरे न बौद्धिक कौशलता नै देखाए । यो मानेमा चाहिँ ओलीलाई मान्नै पर्छ । त्यसैले केटाहरूले ‘ओल्बा’ भनेका होलान् ।

उनी तीन वर्षमा मुस्किलले एक दर्जनपल्ट मात्रै सिँहदरबार गए भनेर अखबारले लेखेका थिए । सबै संयन्त्र क¥याककुरुक पारी बालुवाटार ल्याएर अनि त्यहीँबाट कहिले सम्पादक सम्मेलन, कहिले भारतीय जिटिभीका पत्रकार सुधीर चौधरीलाई अन्तरङ्ग वार्ता र कहिले देशवासीका नाममा सम्बोधनका नाममा उच्चाटलाग्दा प्रवचनहरूबाट आत्म प्रवञ्चनात्मक शैलीमा डिङ् हाक्ने काम गरे ।

धेरै आफ्नै कारणहरूले र केही सल्लाहकारहरूले दिएका गलत सल्लाहले ओली सत्ताबाट झरे । रमाइलो कुरा त ५० प्रतिशत आफ्नै कारण र बाँकी ५० प्रतिशत सल्लाहकारका कारणले ओली गए, देउवा आए । पहिले पनि देउवालाई ओलीले नै विस्थापित गरेका हुन् । अहिले उही पालो दोहोरिएको हो । नूतन सोचको फरक मान्छे सरकारमा आएको होइन ।

खासमा जनताको लेयरबाट हेर्दा केही भएन । ओली हिजो सरकारमा रहँदा एम्सीसीका दह्रो समर्थक थिए । अहिले देउवा कट्टर समर्थक छन् । तुलामा राखेर तौलिँदा यी दुईमा कोही कमिबेसी छैनन् । एउटाले कम्युनिष्टका नाम भँजाएर ‘दक्षिणपन्थी’ भूमिका निभाए भने अर्काले ‘प्रजातन्त्रवादी परिचयका आवरणमा वामपन्थी भूमिका’ निभाउँदै छन् । तर यति हुँदासमेत जनतालाई उही ‘बिगौती’ भन्ने शैलीमा अघि बढिरहेका छन् । हिजो जुन भुइँ जनताले ओलीको जय जयकार गरेथे तिनलाई बाल मतलव पनि दिएनन् ओलीले । बरू उनलाई यति र ओम्नी नै प्यारा भए । क्याडर बेस्ड पार्टीमा कार्यकर्ताका कुराहरू नसुनिने महारोगले उनलाई गाँज्दै लग्यो ।

प्रचण्डसँग उनको द्वादश परेपछि भने उनको सत्ता क्रमशः तासको घर भयो । केन्द्रीय सरकार खोसिएका ओली अहिले प्रदेश सरकार समेत खोसिएको रुन्चे हाँसो हाँस्दै टुलुटुलु हेरिरहेका छन् । बागमती प्रदेश र एक नम्बर प्रदेशमा मुख्यमन्त्री खानका लागि अन्तिममा गुट फेरेका ‘राजनीतिक पपेटहरू’ अष्टलक्ष्मी शाक्य र भीम आचार्यको पदावधि अब केही हप्ता मात्र भनेर नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशका प्रभावशाली सांसद राजेन्द्र पाण्डे भन्दै थिए ।

भित्री गाँठी कुरा त जनतालाई के थाहा ? तर ओलीको सनक र दम्भकै कारणले हो दुईबाहेक नेकपाका बर्करार सरकारहरू क्रमशः धराशयी हुन थालेका । देउवाको समेत निको चाल छैन । अहिलेसम्म सरकार पूरा भएको छैन । पेपरमा व्यङ्ग्य आउन थालिसके । ‘यो १७ महिनाभित्र मन्त्रीमण्डल पूरा गरिसके भने त्यो देउवाका लागि त्यो अहोभाग्य हुनेछ ।’

जनताले प्रजातान्त्रिक समाजवादका हिमायती देउवाबाट ससाना कुराहरूको मात्रै अपेक्षा गरेका छन् । कुनै ठूला सपनाहरू छैनन् । मात्र अघिल्लो सरकारले जस्तो गल्ती नगरोस् । भ्रष्टहरूलाई सरकारमा लगेर भ्रष्टाचारको नेतृत्व नगरोस् भन्नेखालका कामना छन् तर देउवा सरकारका लागि भने यो एम्सीसीको भाँउतो ‘घाँटी माथिको जाँतो’ भएर झुण्डिएको छ ।

सुन्दा अप्रिय लागे पनि ओली कम्युनिष्ट दर्शनलाई चुइगम चपाएझैँ गर्दै दक्षिणपन्थी अभिनयमा लागेकै हुन् भने देउवा अङ्कलको चाहिँ समाजवादी छवि साँघुरिँदै गएर वामपन्थी बन्नै लागेको हो ? प्रदेशका कानुनले अझै पूर्णता पाएका छैनन् । प्रतिनिधि सभामा विधेयहरूका चाङ छन् । दैनन्दिन प्रशासन बाहेक मन्त्रीहरू पूरा नभएर केन्द्र र प्रदेशका ठूल्ठूला विकासका कामहरू नीतिगत निर्णय गर्ने ठाउँमा जाम भएका छन् । किनारीकृत जनता अहिले यिनै प्रश्नहरू सरकारतर्फ सोझ्याएर सोधिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्