३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


दुई गाउँ अझै ‘श्री ५’ कै नाममा


0
Shares

काठमाडौं । मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५ को वायुगुठी’ अंकित छ। पुस्तौंदेखि किसानले खेती गर्छन्, कर तिर्छन्। तर, स्वामित्व भने अझै पाएका छैनन्।

गोरखाको आरुघाट गाउँपालिका–३ र ४ (पुरानो थुमी गाविस) र धादिङको नेत्रावती गाउँपालिका र नीलकण्ठ नगरपालिकाका कटुञ्जे र ज्यामरुङका जग्गाजमिनको स्वामित्व ‘श्री ५ को वायुगुठी’ मा रहेको स्थानीयवासी बताउँछन्।

राजसंस्था र श्री ५ नै अस्तित्वमा नरहेको अवस्थामा दूरदराजका किसानलाई ‘श्री ५ को अल्झो’ मा राख्नु न्यायपूर्ण नहुने अगुवा किसानहरूको भनाइ छ।

गोरखाको पुरानो थुमी गाविसका ७ सय ४९ जना किसानले आवादी गरेका खेतबारी र घरघडेरी श्री ५ को वायुगुठीको नाममा छ। ७३ जना किसानको मात्र आफ्नो नाममा लालपुर्जा रहेको मालपोत कार्यालयको तथ्यांकमा उल्लेख छ। आर्खेत बजार र ढुंगेफाँटका दुई बस्ती अझै पनि ज्यामरुङ दरबारका राजा लीलाविक्रम शाहको नाममा छ।

‘ढुंगेफाँट र आर्खेत बजारको जग्गा–जमिनमा स्थानीयवासीले बजार गुल्जार गरिसकेका छन्। किसानले खेती गरिरहेका छन्, कर पनि किसानले नै तिर्छन्, तर लालपुर्जा लीलाविक्रमको नाममा छ’, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘खेती गरेको चार पुस्ता भइसक्यो, तैपनि घरजग्गा यहाँका किसानको नाममा छैन।’ २०४० साल अघिदेखि मोहीले आफ्नो नाममा लालपुर्जा बनाउन धेरै नै कसरत गरे, तर अझै नसकेको उनको भनाइ छ। ‘जति दौडधुप र प्रयास गर्दा पनि आफ्नो नामको लालपुर्जा बनाउने किसानको धोको अधुरै रह्यो’, उनले भने।

अन्नपूर्ण