
नयाँ दिल्ली, साउन १६ । मोबाइल फोनमा कुरा गरिरहेको समयमा अचानक मोबाइल विस्फोट हुँदा एक युवकको मृत्यु भएको छ ।
आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा सोमबार उक्त घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
मोबाइल चार्ज गरिरहेकै समयमा चांगु मस्तान रेड्डी नाम गरेका ३१ वर्षीय ती व्यक्तिले कसैसँग फोनमा कुरा गरिरहेका थिए । अचानक ‘हाइ भोल्टेज’ का कारण मोबाइल विस्फोट हुँदा उनी नराम्ररी घाइते भएका थिए ।
प्रहरीका अनुसार उक्त दुर्घटना हुँदा रेड्डी आफ्नो घरमा एक्लै थिए । छिमेकीले तार जलेको गन्ध पाएपछि उनको कोठामा पुग्दा अचेत अवस्थामा उनी ढलेको पाइएको प्रहरी समक्ष जनाएका छन् ।
छिमेकीले नै उनलाई अस्पताल लगेका थिए । लगत्तै चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।
प्रहरीका अनुसार मोबाइल फोन पूर्ण रुपमा जलेका कारण कुन कम्पनीको मोबाइल हो भन्नेसमेत प्रष्ट हुन सकेको छैन ।
मृतक रेड्डी शारीरिक रुपमा अशक्त थिए । प्रहरीका अनुसार उनी राज्य सरकारका तर्फबाट शारीरिक रुपमा अशक्त व्यक्तिका लागि उपलब्ध गराउँदै आएको मासिक भत्ताबाट गुजारा चलाउँदै आएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्