Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


नेकपाको स्थायी कमिटी बैठक एक वर्षपछि बस्दै, आन्तरिक विवाद समाधान गर्न नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पनि आजै


0
Shares

काठमाडौं, मंसिर २९ । सत्तारूढ नेकपा स्थायी समिति बैठक आज बस्दैछ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन तीन महिनामा बस्नुपर्ने भएपनि यो बैठक एक वर्षपछि बस्न लागेको हो ।

यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन ।

एक वर्ष बीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समिति अगाडि सचिवालय बैठक बस्नेछ । सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ ।

गत सोमबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठको मिति तय गरेको हो । दुई अध्यक्षबीच स्थायी समिति बैठकमा लग्ने एजेण्डा र अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल भएको बताइएको छ ।

एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ ।

स्थायी समिति सदस्यहरूले भने पार्टी कामको समग्र समीक्षा र आगामी योजनाका विषयमा समय लिएर छलफल गर्नुपर्ने पक्षमा छन् ।

 यता नेपाली कांग्रेस केन्दीय कार्यसमितको बैठक आज बस्दैछ । यसअघि बिहीबार रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेपछि आजका लागि बैठक सारिएको हो ।

त्यसपछि सभापति देउवाले असन्तुष्ट पौडेल पक्षलाई सहमतिमा ल्याउन विभिन्न छलफल गरेका छन् ।

सभापति देउवा हिजो बिहान नेता पौडेल निवास पुगेर सहमतिका लागि तयार रहेको बताएका थिए ।

उनले पौडेल पक्षको माग अनुसार नै अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

बैठकमा दुवै नेताहरुले समस्या समाधानका लागि सहमति खोज्न दोस्रो तहका नेतालाई जिम्मा लगाएका थिए ।

हिजो साँझ पौडेल पक्षका नेता प्रकाशमान सिंह र देउवा पक्षका विमेन्द्र नीधिको नेतृत्वमा सिंह निवास चाक्सिबारीमा छलफलसमेत भएको बताइएको छ ।

पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहमति नहुँदा कांग्रेसमा बढ्दै गएको विवाद सतहमा आएको छ ।