२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


‘सांसददेखि कर्मचारीसम्म उत्तिकै गम्भीर र जिम्मेवार हुनुपर्छ’


0
Shares

काठमाडौं, मंसिर २८ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद मर्यादित हुनेगरी संसदीय गतिविधि अघि बढाउनुपर्ने बताएका छन् ।

१३औं संघीय संसद सेवा दिवसका अवसरमा शनिबार संसद सचिवालयले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसदका हरेक गतिविधि मर्यादित बनाउन सांसददेखि कर्मचारीसम्म उत्तिकै गम्भीर र जिम्मेवार हुनुपर्ने बताए ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्न पनि संसदीय गतिविधि मर्यादितरुपमा अघि बढाउनुपर्ने धारणा राखे ।

अध्यक्ष तिमिल्सिनाले समय बिताउनका लागिमात्रै नभइ राज्यप्रतिको दायित्व बुझेर काम गर्न संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।

जिम्मेवारी पूरा गर्न गम्भीर हुनुपर्छ : उपसभामुख

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले संसद सचिवालयका कर्मचारीहरु संकुचित अवस्थामा बस्न नहुने भन्दै दिएको जिम्मेवारी पूरा गर्न गम्भीर हुनुपर्ने धारणा राखिन् ।

पुरस्कार

संघीय संसद सेवा दिवसका अवसरमा सचिवालयका सूचना अधिकृतसमेत रहेका उपसचिव दशरथ धमलालाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

यस्तै, ७५ हजार राशिको उत्कृष्ट कर्मचारीको पुरस्कार सचिवालयकी कर्मचारी रेणुका सुवेदीलाई प्रदान गरिएको छ ।

संसद सेवा पुरस्कार सचिवालयमा कार्यरत् कर्मचारीद्वय जंगबहादुर मगर र गम्भीरमान सिंहलाई दिइएको छ । पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।

संसदको वृहत् सेवा पदक संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत ३७ जनालाई दिइएको छ ।

कार्यक्रममा संसद सेवा दिवसका अवसरमा सन्चालन गरिएका विविध क्रियाकलापका विजेतालाईसमेत पुरस्कार वितरण गरिएको थियो ।