
काठमाडौं । उद्धार गर्ने झन्झटिलो प्रक्रियाका कारण गारेरखाको दुर्गम चुम्चेत गाउँमा सुत्केरीको मृत्यु भएको छ । सडक सञ्जालले नजोएिको सो गाउँमा हेलिकप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यु भएको स्थनीय फुर्बा याङ्जेन लामाले जानकारी दिइन् ।
चुमनब्री ६ कोम्बाकी २५ वर्षीया हिसे डोमाको बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो । ‘बच्चा त बुधबार राति १२ बजे नै जन्मिएको रहेछ । सालनाल नझरेपछि मृत्यु भएको हो,’ उनले भनिन्, ‘उद्धार गर्न हेलिकप्टर ल्याण्ड गर्नु र मान्छे मरिसक्यो भनेर फोन आउनु एकै चोटी भयो।’ सो गाउँमा बाकलो हुस्सुका कारण हेलिकप्टर अर्को गाउँ चुम्लिङमा बसेको थियो ।
सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयले हेलिकप्टर पठाएको थियो । बिहीबार बिहानदेखि हेलिकप्टरका लागि प्रक्रिया थालिएको थियो । तर, दिउँसो ३ बजेसम्म पनि उपलब्ध हुन सकेन । पर्खदापर्खदै महिलाको मृत्यु भयो ।
हेलिकप्टरका लागि स्वास्थय चौकीले स्वास्थ्य शाखालाई, स्वास्थ्य शाखाले गाउँपालिकालाई , गाउँपालिकाले जिल्ला प्रशासनलाई र जिल्ला प्रशासनले महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई खबर गर्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् ।
‘प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला,’ उनले भनिन, ‘सबै निकायबाट जतिसक्दो चाँडो प्रयास त गरेकै हौँ।’
अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस्