१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023


ओली सरकारले निषेध नगरेको भए चितवनमा क्रान्तिकारी तरिकाले विकास हुन्थ्यो– प्रचण्ड


0
Shares

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारले निषेध नगरेको भए चितवनमा धेरै विकास भइसक्ने बताउनुभएको छ । चितवन क्षेत्र नम्वर ३ बाट संघीय सांसद हुनुभएका अध्यक्ष दाहालले ओली नेतृत्वको सरकार चितवनप्रति अलिकति पनि सकारात्मक नभइदिएको आरोप लगाउनुभयो ।

बुधबार भरतपुर मेट्रो प्लजा बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएको दाहालले आफूले चुनावमा नारायणी–राप्ती तटवन्ध गर्ने, रिङरोड गराउने, करिडोर गराउने, माडी जाने सडक कालोपत्रे गर्ने वा ओभरव्रिज गराउने लगायतका योजना सुनाए पनि ओली नेतृत्वको सरकारले चितवनलाई निषेध गरेपछि ती पूरा हुन नसकेको बताउनुभयो ।

तर, अहिले जति विकास भएका छन् ती सबै केन्द्र सरकारमा निकै मेहनत पछि भएको उहाँको भनाइ थियो । आफूलाई देशको विकास र समृद्धिमा समर्पण गर्ने बताएर वाम गठवन्धनको अग्रभागमा रहे पनि आफैँमाथि ठूलो प्रहार र निषेध हुन सक्नेतर्फ आफूले कहिल्यै नसाचेको पनि उहाँको गुनासो छ ।

‘त्यो समयमा आफ्नै पार्टीका प्रधानमन्त्री र पार्टीका अध्यक्ष समेत थोरै मात्रै सकारात्मक भइदिएको भए चितवनमा क्रान्तिकारी तरिकाले विकास हुन्त्यो, म ठोकुवा गर्छु’, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले देशलाई ठूलो दुर्घटनामा हुनबाट जोगाएको भन्दै अहिलेको गठवन्धन सरकारले विकासलाई तीव्रता दिने बताउनुभयो ।