२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


लोकतन्त्रका लागि लडेका नेपाली कम्युनिस्ट शासन रुचाउँदैनन् : नेत्री कोइराला


0
Shares

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपाल कम्युनिस्ट मुलुक बन्न नसक्ने जिकिर गरेकी छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन, सिन्धुपाल्चोकले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपाली संस्कार र संस्कृति नै प्रजातान्त्रिक भएकाले मुलुक कम्युनिस्ट सिद्धान्तमा चल्छ भनेर आत्तिरहनु नपर्ने बताइन् ।

विश्वभर प्रजातन्त्र कमजोर बनिरहेका बेला नेपालमा प्रजातान्त्रिक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने नेत्री कोइरालाको सुझाव थियो ।

‘नेपाली जनता प्रजातन्त्रसँग रमाउन चाहन्छन् । त्यसैले सहमति, सहकार्य र एकताका आधारमा कांग्रेसले सबै विचार र सिद्धात बोकेका दल र व्यक्तिहरुलाई साथ लिएर हिँड्नुपर्ने बेला आएको छ,’ उनले भनिन्, ‘प्रजातान्त्रिक विधि र पद्दति बुझेका जनतालाई जबर्जस्त कम्युनिस्ट भनिरहनु जरुरी छैन ।’

कार्यक्रममा प्राध्यापक तथा विश्लेषक डा. जयराज आचार्यले गिरिजाप्रसाद कोइरालाको जस्तो विचार र सांगठनिक भूमिका आजको कांग्रेसलाई आवश्यक रहेको बताए ।

प्रजातान्त्रिक संस्कारमा हुर्किएको नेपालका कम्युनिस्टहरु लामो समयसम्म सत्तामा बसे भने मुलुक डुब्न पनि सक्दै बताउँदै डा. आचार्यले भने, ‘वर्तमान सरकार सन्चालनको अवस्था हेर्दा मुलुक ठूलो दुर्घटनामा पर्नसक्ने अवस्था देखिन्छ ।’

प्रजातन्त्र जोगाउन कांग्रेसलाई सक्षम बनाउन विचार, संगठन र चरित्र बलियो बनाउनुपर्ने आवश्यक्ता रहेको औंल्याउँदै उनले भने, ‘अब कांग्रेस जुट्नुपर्ने र नयाँ नेतृत्व जरुरी छ ।’

अर्का विश्लेषक उमेश भट्टराईले संघीयता र गणतन्त्र कार्यान्वयन नभए वृहत् शान्ति–सम्झौतालाई असर गर्ने भएकाले मुलुकमा शान्ति, मानवअधिकार, लोकतन्त्र र विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामा, गिरिजाप्रसाद कोइराला फाउन्डेसन, प्रदेश नम्बर–३ की संयोजक रिता खनाल, अभियन्ता आङछिरिङ शेर्पालगायतले गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकालाई सम्मान गर्दै सहमति, सहकार्य र एकताका आधारमा मुलुक अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रम फाउन्डेसनका सिन्धुपाल्चोक सभापति थइन्द्र रिजालको सभापतित्वमा सम्पन्न भएको थियो ।