Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


लाइसेन्स छाप्ने कार्ड ल्याउन विभाग असफल, अझै ६ लाख छाप्न बाँकी


0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । छाप्ने कार्ड नभएपछि यातायात व्यवस्था विभागले अति जरुरी बाहेकका लाइसेन्स छपाइ बन्द गरेको छ ।

लामो समयसम्म पनि लाइसेन्स छाप्ने कार्ड ल्याउन असफल भएपछि नयाँ लाइसेन्स लिन चाहनेहरू मर्कामा पर्ने देखिन्छ । कार्ड अभाव देखाउँदै यातायात व्यवस्था विभागले गत वर्षको फागुन महिनादेखि नियमित लाइसेन्स छपाइ बन्द गरेको छ ।

विभागसँग अहिले २० हजार खाली कार्ड छ, तर ती कार्ड अति आवश्यक लाइसेन्सका लागि भनेर राखिएको छ । यसबीचमा पनि विदेश जानेहरू, कर्मचारी, मिसनमा जाने सेना र प्रहरीलगायतका लागि १० हजार कार्ड छापिएको थियो ।

अब सर्वसाधारणको स्मार्ट सवारी चालक अनुमति पत्र छाप्न असोज महिनासम्म कुर्नुपर्ने विभागका महानिर्देशक नमराज घिमिरे बताउनुहुन्छ ।

‘अहिले कार्ड नआएकाले छाप्नुपर्ने लाइसेन्ससमेत छाप्न सकिएको छैन,’ उहाँ भन्नुहुन्छ, ‘अति आवश्यकका लागि भनेर २० हजार कार्ड सुरक्षित राखेका छौं ।’

विभागले २०७७ सालको मध्य मंसिरसम्ममा २० लाख लाइसेन्स छापेर यातायात कार्यालयहरूमा पठाइसकेको छ भने अझै ६ लाख कार्ड छाप्न बाँकी छ ।