Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


स्वास्थ्य मापदण्डमा हेलचेक्र्याईं, प्रहरी भन्छन् ‘जति भने पनि टेर्दैनन्’


0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । कोभिडको संक्रमण घटेको छैन । अस्पताल भरिभराउ छ । चिकित्सकहरूले काठमाडौंलाई खतराको सूचीमा राखेका छन् । तर, काठमाडौंको नयाँ बसपार्कमा मान्छेहरूको भीड हेर्दा कुम्भमेलाजस्तै लाग्छ ।

मास्क कुन चरीको नाम हो, कसैलाई थाहा छैन । हजारौं यात्रु बाहिरिने र भित्रिने यो ठाउँमा सुरक्षा मापदण्ड प्रभावकारी बन्न सकेको छैन । यही लापरबाही भोलिका लागि विभत्स बन्ने खतरा छ । हजारौं यात्रु भित्रिने र बाहिरिने गोंगबुस्थित नयाँ बसपार्कमा मान्छेको अनियन्त्रित भीड छ ।

मास्क नलगाउनेहरूलाई सम्झाउने जिम्मेवारी पाएका प्रहरीसमेत विनामास्क देखिएपछि यहाँको अवस्थाबारे बाँकी चर्चै गर्नु परेन । सरकारले कोभिड संक्रमण नियन्त्रण गर्ने भन्दै महिनौं देखि निषेधाज्ञा जारी गर्दै आए पनि हेलचेक्र्याईंले अवस्था कुन बाटोतिर जाँदैछ भन्ने अनुमान लाउन सकिन्छ ।
बसको टिकट काट्न आउने यात्रुदेखि टिकट बसपार्क कर्मचारीमा समेत स्वास्थ्य चेतना देखिदैन । चरम लापरबाहीका दृश्य टुलुटुलु हेरेर बसिरहेका सुरक्षाकर्मी आफूहरुले जति भने पनि नटेरको गुनासो गर्छन् । ‘जति भन्दा पनि लाग्दैन,’ आफ्नो बाध्यता सुनाउँदै प्रहरी भन्छन्, ‘अहिले लगाउँछन्, अलि पर पुगेपछि फेरि खोलिहाल्छन् ।’

मास्क नलगाउनेलाई ठाउँका ठाउँ कारबाही गर्ने अधिकार स्थानीय प्रशासनलाई भएपनि प्रहरीमा त्यो तदारुकता देखिँदैन । यद्यपि काठमाडौंका प्रमुख जिल्ला अधिकरी कालीप्रसाद पराजुली स्वास्थ्य मापदण्ड पालना गराउन सक्रियतापूर्वक लागेको दावी गर्नुहुन्छ ।

लाखौं जनता बसोबास गर्ने काठमाडौंमा केही थान प्रहरी पछि लागेर स्वास्थ्य मापदण्ड पूरा नहुने निश्चित छ । त्यसैले आफ्नो स्वास्थ्य आफैंले बचाउनु एकमात्र बुद्धिमानी हो ।

Skip This