
काठमाडौं, साउन १५ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत् प्रा. डा. गोविन्द केसीलाई वार्डमा सारिएको छ ।
६ दिन आइसीयूमा राखेर उपचार गरेपछि डा. केसीलाई मंगलबार वार्डमा सारिएको हो ।
२७ दिन लामो सत्याग्रहका कारण शरीरमा आएका विभिन्न परिवर्तनहरुको उपचार गर्न लामो समय आइसीयूमा बस्नुपरेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
विशषगरी रगतमा पोटासियमको मात्रामा भएको गडबडी, रक्तचापमा आइरहने फेरबदल र सेतो रक्तकोषिकाको संख्या निकै कम भएका कारण डा. केसीलाई आइसीयूमा राखिएको हो ।
मंगलबार गरिएको रगतको परीक्षण र इसीजीमा सुधारका संकेतहरु देखिएकाले डा. केसीलाई वार्डमा सारिएको हो ।
अझैपनि सन्तोषजनकरुपमा सुधार नभएकाले शिक्षण अस्पतालकै मेडिसिन विभागअन्तर्गत् भर्ना गरी डा. केसीको उपचार भइरहेको छ । डिस्चार्ज गर्न भने अझै एक हप्ता लाग्नसक्ने चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्