१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


मेरा लागि ओली, नेपाल र खनाल बराबर हुन्, नेपालको कदमप्रति मेरो असहमति छः मुख्यमन्त्री शाक्य


0
Shares

रोमन आचार्य

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेका नेता माधव कुमार नेपाल, झलनाथ खनाल र केपी ओली सबै आफ्ना लागि बराबर भएकाे बताउनुभएको छ । आज बिहान ईमेजसँग कुरा गर्दै उहाँले आफू सरसल्लाह अनुसार नै बागमती प्रदेशको मुख्यमन्त्री बनेको दावी गर्नुभयो ।

लामो समयसम्म माधव नेपाललाई साथ दिनुभयो त भन्ने प्रश्नमा शाक्यले भन्नुभयो, ‘मेरो लागि सबै बराबर हो (उहाँ) माधव नेपालको कदमप्रति मेरो असहमति छ मैले भनिसकेको छु ।’

लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएकी शाक्य ओली पक्षमा लागेर बुधबार मुख्यमन्त्री बन्नुभएको छ । माधव नेपाल र केपी ओलीको विवादको सुरुवात कारण नै शाक्य बन्नुभएको थियो ।

शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नबनाएपछि ओली र नेपालबीच विवाद सुरु भएको हो । विवाद बढ्दै गएपछि बुधबार नेपालले नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्ता गर्नुभएको छ । तर शाक्य भने नेपालसँग जानुभएन । धेरैले मुखयमन्त्रीको लोभमा शाक्यले नेपालको साथ छाडेको आरोप लगाएका छन् । शाक्य ओलीको कट्टर आलोचक हुनुहुन्थ्यो ।

अर्को प्रसंगमा शाक्यले कुनैपनि पार्टी फुट्न नहुने भन्दै पार्टी फुटेमा देश कमजोर हुने बताउनुभयो । ‘कुनैपनि पार्टी फुट्नु हुँदैन् यसले लोकतन्त्र र गणतन्त्र कमजोर बनाउँछ’, उहाँले भन्नुभयो, ‘सबै एक ढिक्का भएर अघि बढ्नुको विकल्प छैन् ।’ उहाँले बागमतीमा एमाले एकढिक्का भएको र बजेट पनि सरसल्लाहमै पास भएको बताउनुभयो ।