५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


सातै प्रदेशका सभामुखको भेला पोखरामा


0
Shares

पोखरा, मंसिर २० । संघीय कानून नबन्दा प्रदेशमा समस्या आउने गरेको सातै प्रदेशका सभामुखहरुले गुनासो गरेका छन् ।

प्रदेश सभा सचिवालय गण्डकी प्रदेशले पोखरामा शुक्रबार आयोजना गरेको अन्तर प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तरक्रियामा संघीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक हुनुपर्नेमा प्रदेशका सभामुखहरुले जोड दिएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संघीयता नेपालका लागि नयाँ प्रयोग भएको भन्दै अभ्यासबाट धेरै सिक्दै अघि बढिएको बताए ।

नयाँ संरचना अनुसार संविधानको कार्यान्वयन गर्दै परम्परागत मूल्य–मान्यताबाट अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले संघीयताको कार्यान्वयनमा देखिएका जटिलता समाधान गरी अघि बढ्नुपर्ने बताउँदै तीनवटै तहको समन्वयबाट मात्रै यसको प्रभावकारिता कायम हुने बताए ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संघीयताको कार्यान्वयनका दृष्टिले नेपाल परीक्षण कालमा नै रहेको भन्दै यो व्यवस्था परम्परागत लोकतान्त्रिक व्यवस्था भन्दा पनि समावेशी, समानुपातिक प्रतिनिधित्व सहितको संघीय व्यवस्था भएको बताए ।

कानून निर्माण गर्दा लक्षित समुदायलाई हेरेर बनाउनुपर्ने उनको भनाइ थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सरकारको असफल भए संघीय व्यवस्था नै असफल हुने बताए ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधान अनुसार संघीय कानून नबन्दा समस्या आउने गरेको बताए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका सहायक आवाशीय प्रतिनिधि यमनाथ शर्मा, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतले सम्बोधन गरेका थिए ।