अनिश्चित बन्दै कांग्रेस महाधिवेशन, पार्टी कब्जा गर्ने शीर्ष नेताका दाउले कार्यकर्ता दिक्क « Image Khabar


अनिश्चित बन्दै कांग्रेस महाधिवेशन, पार्टी कब्जा गर्ने शीर्ष नेताका दाउले कार्यकर्ता दिक्क


Border circle
Imagekhabar

अक्कल कुँवर
काठमाडौं । पछिल्लो कार्यतालिका अनुसार नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन गर्ने दिन अर्थात भदौ १६ गते आउन अब २५ दिनमात्र बाँकी छ ।

अझै महाधिवेशनका मतदाताको टुङ्गो लाग्न सकेको छैन । पार्टीभित्रको संस्थापन र संस्थापन इतर पक्षबीच महाधिवेशनमा आफ्नो पल्ला भारी पार्न क्रियाशील सदस्यतामा माथापच्ची चलिरहेको छ ।

जसरी पनि पार्टी कब्जा गर्ने नेतृत्वका आकांक्षीहरूको दाउका कारण आसन्न महाधिवेशन अन्योलग्रस्त बन्दै गएको छ । पार्टी नेतृत्व हत्याउन क्रियाशील सदस्यताबाटै कब्जा जमाउने सुरु गर्ने अभ्यासका कारण सदस्यता विवाद टुङ्गो लाग्न सकेको छैन ।

क्रियाशील सदस्यता विवादकै भूमरीमा परेर तीन तहको अधिवेशन प्रभावित भइसकेको छ । संस्थापन पक्ष आगामी महाधिवेशनबाट नेतृत्वमा रहिरहने मानसिकतामा छ भने संस्थापन इतरपक्ष जसरी पनि नेतृत्व आफ्नो पोल्टामा पार्ने दाउमा छ ।

नेतृत्व र क्रियाशील सदस्यताका लागि महिनौंदेखि रस्साकस्सी चले पनि पार्टीको नीति, कार्यक्रम र भावी योजनाको सम्बन्धमा न कसैलाई चासो छ न त चिन्ता नै । नेतृत्वको व्यक्तिमुखी प्रवृत्तिले क्रियाशील सदस्यताको समस्या झन्–झन् बढ्दै गएको छ ।

क्रियाशील सदस्यतामा पकड जमाउन सके नेतृत्व लिन सहज हुने दुवै पक्षको जोडघटाउ छ । पार्टीको नीति र विधि विधान हात्तीको देखाउने दाँत जस्तै भएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसी बताउनुहुन्छ ।

क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपछि १४ गतेको छलफलमा शीर्ष नेताहरूले ५ दिनभित्र विवाद टुङ्गो लगाउने दावी गरे पनि पटक–पटकको छलफल सार्थक बन्न सकेको छैन । तर, नेताहरू अझै पनि तोकिएकै समयमा महाधिवेशन हुने दावी गर्न छोडेका छैनन् । क्रियाशील सदस्यता नटुंगिएकाले अधिवेशन नहुने स्थिति नभएको केन्द्रीय सदस्य प्रदीप पौडेल बताउनुहुन्छ ।

नेतृत्वका आकांक्षीहरूबीच पार्टी कब्जा गर्ने र त्यसको जगमा राज गर्ने दाउ चलिरहँदा कांग्रेसका इमान्दार नेता तथा कार्यकर्तालाई जसरी पनि पार्टी कब्जा गर्ने रणनीतिसँग डर छ ।

एक्काइसौं शताब्दीको पार्टी कस्तो बनाउनु पर्छ भन्ने खाका बनाउने भन्दा पनि धमिलो पानीमा माछा मार्ने नेतृत्वको चरित्रका कारण महाधिवेशन अनिश्चित बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्