आउने पाँच महिनामा कोरोनाका झण्डै २ लाख नयाँ संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण « Image Khabar


आउने पाँच महिनामा कोरोनाका झण्डै २ लाख नयाँ संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण


Border circle
Imagekhabar

काठमाडौं, साउन २१ । अबको पाँच महिनामा कोरोना भाइरसका झण्डै दुई लाख संक्रमित थपिने प्रक्षेपण सरकारले गरेको छ । यद्यपि, यो अरु समयको तुलनामा गिर्दो संख्या हुने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणअनुसार साउन महिनापछि कोरोना संक्रमणको दर घट्दै जानेछ ।

लोहनीले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । साउनमा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा मंसिर महिनासम्ममा यो संख्या घटेर २५ हजार पुग्ने मन्त्रालयको अनुमान छ ।

पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने तथा तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने पनि सरकारले जनाएको छ ।

कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशत व्यक्तिको कोरोना परीक्षणसम्पन्न भएको छ भने २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको देखिएको छ ।

साउन २० सम्म ७ लाख ६९ हजार नौ सय २२ जनामा संक्रमण देखिएको छ भने कोभिड १९ बाट ९ हजार नौ सय ५७ जनाको मृत्यु भएको छ ।

साउन २० सम्ममा नेपालमा कोरोना खोपको पहिलो मात्रा ४२ लाख ९७ हजार ६ सय १२ जना तथा पूर्ण खोप २० लाख ७४ हजारले लगाएको पनि लोहनीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्