Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


भेरीबबई डाइभर्सन आयोजना ‘लफडा’: जनप्रतिनिधिले नै दिए आन्दोलनको चेतावनी


0
Shares

-मानबहादुर वली/इमेज

सुर्खेत, मंसिर १७ । निर्धारित समय अगावै सुरुङ्ग निर्माण गरेर चर्चा कमाएको भेरीबबई डाइभर्सन आयोजना क्षेत्रका स्थानीय तहले मुआब्जा वितरणलगायतका विषयमा असहमति जनाएका छन् ।

आयोजना प्रभावित क्षेत्रमा प्रतिबद्धता अनुसार काम नगरेको भन्दै स्थानीय तहका जनप्रतिनिधिले आन्दोलनको चेतावनी दिएका हुन् ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले प्रतिवद्धताअनुसार काम नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय तह आन्दोलित भएका छन् ।

प्रभावित क्षेत्रका स्थानीय तह र प्रभावितले समपुरक आयोजनाका रुपमा सुरु गरिएको भेरी करिडोर वहुउद्देश्यीय आयोजनाको क्षेत्राधिकार कटौती गरिएको, स्थानीय तहसँगको समन्वयविनै प्रभावित क्षेत्रको सर्भे र मुआब्जा तोकिएकालगायत आरोप  लगाउँदै आन्दोलन थालेका हुन् ।

प्रभावित क्षेत्रका भेरीगंगा, गुर्भाकोट र लेकबेंशी नगरपालिकाका जनप्रतिनिधि, पूर्वसरोकार समाज र प्रभावित क्षेत्रका बासिन्दा सम्मिलित भेरी–बबई डाइभर्सन जनहित समितिले प्रधानमन्त्री, तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई २३ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

आफ्ना मागलाई सरकारले र आयोजनाले बेवास्ता गरे आयोजना निर्माणमा अवरोध गर्ने आयोजना प्रभावित क्षेत्र गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुनले चेतावनी दिए ।

आयोजनाले लालपूर्जा भएकालाई मात्र मुआब्जा वितरण गर्ने तयारी गरेकाले जनप्रतिनिधि नै आन्दोलनमा जान बाध्य भएको लेकबेशी नगरपालिकाका मेयर गगनसिंह सुनारको भनाइ छ ।

आयोजना सुरु हुँदा भेरी करिडोर वहुउद्देश्यीय आयोजनामार्फत घोरेटादेखि घाटगाउँसम्मको एक सय ३२ किलोमिटरमा भेरी वारी र पारी दुई–दुई किलोमिटर क्षेत्रमा सिँचाइ सुविधा, ग्रामीण सडक, विद्युतीकरण, पूर्वाधार र रोजगार सिर्जना गर्ने उल्लेख थियो ।

तर अहिले आयोजनाको नाम र उद्देश्यनै परिवर्तन गरी काम थालिकाएको प्रभावित क्षेत्रकै भेरीगंगा नगरपालिकाका मेयर भूपेन्द्रबहादुर चन्दको भनाइ छ ।

आयोजना निर्माणको पहिलो चरणमा टनेल बोरिङ मेसिन (टिबीएम) प्रयोग गरेर भेरीगंगा नगरपालिकाको हात्तिखालदेखि भेरीको चिप्लेसम्म १२.२ किलोमिटर टनेल खनिएको छ ।

भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनका साथै प्रदेश ५ का बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको आयोजनाको दोस्रो प्याकेजअन्तर्गत बाँध (ड्याम) र विद्युत् गृह (पावरहाउस)को काम सुरु भएको छ ।