सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएपछि शुभेच्छुकहरुले खुशीयाली मनाईरहेका छन् ।
तिलकले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराएर विजयोत्सव मनाइँरहँदा वडा नम्बर ७ मा आश्चर्यलाग्दो परिणाम आएको छ ।
अन्तिम अवस्थामा मत गणना भईरहेको वडा नम्बर ७ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुबर्ण मोहन पलिखेले एक मतले पराजित भोग्नु परेको छ ।
उनका निकटतम प्रतिद्वन्द्धी नेकपाका जीवनराज सुवेदीले ६२२ मत ल्याएर विजयी भए । पलिखेले ६२१ मत ल्याएका छन् । उक्त वडाको पुनः मत गणना हुनुपर्ने माग कांग्रेसले राखेको छ ।
वि.स. २०४८ सालदेखि नेकपाले कब्जा जमाउँदै आएको धरानमा यस पटक कांग्रेसले किल्ला तोडेको हो ।
शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो । यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।
धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको थिएन ।










प्रतिक्रिया दिनुहोस्