पोखरा । प्रतिनिधिसभा कास्की २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी भएकी छन् ।
प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई आठ हजार बढी मतान्तरसहित पराजित गर्दै उनी विजयी बनेकी हुन ।
यद्यपी, मत परिणाको औपचारिक घोषणा हुन भने बाँकी छ । भट्टराईले २४ हजार ३ सय ९२ मत प्राप्त गरी विजयी हुँदा नेपाली काँग्रेसका निकटतम प्रतिस्पर्धी खेमराज पौडेलको पक्षमा १५ हजार ९ सय ८६ मत मात्र प्राप्त गरे ।
शनिबार(हिजो) राती साढे १० बजेदेखि सुरु भएको मतगणना राजनीतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि साढे एकमा मात्रै सुरु भएको थियो ।
यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए ।
जितसँगै नेकपाले कास्की–२ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।
विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।
साथै उनले भोट नहालेका जनताको भावनालाई पनि कदर गर्न आग्रह गरे । पौडेलले हार स्वीकार गर्दै मार्मिक ट्वीट पनि गरेका छन् ।
उनले भनेका छन्, ‘सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ। विजयी नानीलाई हृदयले बधाई-राम्रो गर्नु।’










प्रतिक्रिया दिनुहोस्