
काठमाडौं, मंसिर १४ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि शनिबार जारी उपनिर्वाचनमा विभिन्न जिल्लाका मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् ।
कुल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो ।
केहीबेरअघिसम्मको विवरणमा शान्तिपूर्णरुपमा भइरहेको निर्वाचनमा एक तिहाइभन्दा बढी मत खसेको छ ।
कास्की–२
कास्की क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको मतदानमा करिब ३० प्रतिशत मतदान भइसकेको छ ।
सो क्षेत्रका ८२ ओटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।
बिहानैदेखि मौसम सफा रहेका कारण मतदाताहरु चाँडै घरबाट निस्केर मतदान गर्न आएको देखिन्छ ।
सो क्षेत्रमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा–३३ स्थित शान्ति उदय मतदान केन्द्रबाट मतदान गरेकी छन् भने साझा पार्टीकी उम्मेदवार रजनी केसीले पोखरा–४ स्थित गैरपाटनस्थित नवीन मावि मतदान केन्द्रमा मतदान गरिन् ।
पौवादुङमा गाउँपालिका–१
भोजपुरको पौवादुङमा गाउँपालिका–१ मा वडाध्यक्षका लागि भएको निर्वाचन शान्तिपूर्णरुपले जारी छ ।
मध्याह्न १२ बजेसम्म ५६९ जनाले मतदान गरेको मतदान अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।
पाँचथर
पाँचथरमा अहिलेसम्म फिदिम नगरपालिका–१ मा २५.०३, हिलिहाङ गाउँपालिका–७ मा २०.१९ र फाल्गुनन्द गाउँपालिकामा ४९.८१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईले जानकारी दिए ।
बागलुङ
बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ मा अहिलेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माकाअनुसार ६० देखि ६५ प्रतिशत मत खस्ने अनुमान छ । वि.सं. २०७४ को चुनावमा ६५ प्रतिशत मत खसेको थियो ।
रुरु गाउँपालिका–६
गुल्मीको रुरु गाउँपालिका–६ को उपनिर्वाचनमा शान्तिपूर्णरुपमा मतदान जारी छ ।
बिहान ७ बजेबाट नै मतदान सुरु भएको निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताए ।
प्रजिअ कोशहरि निरौलाकाअनुसार मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।
हरिपुर्वा नगरपालिका–१
सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्षको उपचुनावमा मतदान जारी रहँदा अमखोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम फेलापरेको छ ।
बम विस्फोट हुनुअगाडि नै रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गराएको थियो ।
सुन्दरबजार नगरपालिका–२
लमजुङको सुन्दरबजार नगरपालिका–२, परेवाडाँडास्थित महेन्द्र मन्दिर मावि मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ ।
मतदान केन्द्रबाट २०० मिटर टाढा जंगलमा ‘टाइम बम’ विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्तबहादुर रानामगरले बताए । बम विस्फोट भएपनि कुनै क्षति भएको छैन ।
बौदीकाली गाउँपालिका–१
नवलपुरको बौदीकाली गाउँपालिका–१ मा वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचन शान्तिपूर्णरुपमा सन्चालन भइरहेको छ ।
पहाडी क्षेत्रअन्तर्गत् पर्ने बौदिकाली–५ को उदय आधारभूत विद्यालय जौबारीमा मतदान सन्चालन भइरहेको छ ।
निर्वाचनमा अहिलेसम्म २९१ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।
संखुवासभा
संखुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका–३ मा मतदान जारी छ ।
मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ मा वडाध्यक्षको निर्वाचन भएको हो ।
पुनर्वास नगरपालिका–३
कन्चनपुरको पुनर्वास नगरपालिका–३ मा खानेपानीमन्त्री बीना मगरले गोरखा माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरिन् ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी निरीक्षक लोकराज जोशीले हालसम्म ५३९ जना मतदाताले मतदान गरिसकेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्