Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


उपनिर्वाचन – ३७ जिल्लाका ५२ पदका लागि मतदान जारी


0
Shares

काठमाडौं, मंसिर १४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा जनप्रतिनिधि चयनका लागि आज उपनिर्वाचन अन्तर्गत मतदान भइरहेकाे छ ।

निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।

३७ जिल्लाका ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

आयोगका अनुसार उपनिर्वाचनका लागि पाँच हजार ५ सय ३२ कर्मचारी खटिएका छन् ।

निर्वाचनका लागि गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

गत साउन १६ गते १८ वर्ष पूरा भइ फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउने छन् ।

मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । निर्वाचनका लागि अनुगमनकर्ता, अधिकारकर्मी र सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ ।

मतदान हुने क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन निषेध गरिएको छ भने मतदान केन्द्र तोकिएका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ ।

निर्वाचन हुने र भारतसँग सीमा जोडिएका कतिपय नाका निर्वाचनका अवधिमा बन्द रहनेछ ।