Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


कास्की–२ मा २१ उम्मेदवारबाट चुनिँदैछन् एक सांसद (७ तस्वीर)


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, मंसिर १३ । कास्कीमा उपनिर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।

शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीहरु मतदान केन्द्र व्यवस्थापनमा लागेका छन् ।

सबै मतदान केन्द्रमा कर्मचारीसहित मतपत्र, मतपेटिकालगायत आवश्यक सामग्री पठाइसकिएको जनाइएको छ ।

संघीय संसद, प्रदेशसभा र स्थानीय तहका केही पदमा जनप्रतिनिधि चयनका लागि देशभर उपनिर्वाचनअन्तर्गत् शनिबार मतदान हुँदैछ ।

शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

कास्की क्षेत्र नम्बर–२ अन्तर्गत् प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि लागि ३२ मतदानस्थलमा ८२ केन्द्र रहेको र सम्पूण तयारी सकिएको कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।

मतपत्र, मतपेटिका, सुरक्षण सिल, मार्कर पेन, स्वस्तिक छाप, रबरलगायत निर्वाचन सामग्री प्रहरीको सहयोगमा सम्बन्धित मतदानस्थलमा पुर्‍याइएको उनले बताए ।

एउटा मतदान केन्द्रमा मतदान अधिकृत एकजना, सहायक मतदान अधिकृत एकजना, कर्मचारी दुईजना र सहयोगी एकजना गरी कुल पाँचजना रहने व्यवस्था मिलाइएको छ ।

कास्की–२ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ योपटक कुल ७१ हजार ८७१ मतदाता छन् ।

पोखरा महानगरपालिकाका वडा नम्बर–४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् ।

उपनिर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

यहाँ शुक्रबार राति १२ बजेदेखि शनिबार राति ८ बजेसम्म सवारी–साधनको आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

निर्वाचन क्षेत्रमा पर्ने राजमार्ग हुँदै चल्ने सवारी–साधनलाई भने सो अवधिभर प्रत्येक तीन/तीन घन्टामा प्रहरीको ‘स्कर्टिङ’मा पार गराइनेछ । त्यस्ता सवारी–साधनले ती स्थानमा यात्री चढाउन, ओराल्न र रोक्न पाउने छैनन् ।