२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


काठमाडौंभित्रकै कारागारको अवस्थामा सुधार आएन (भिडियो)


0
Shares

दीपक श्रेष्ठ/उत्तम मानन्धर/नवीन स्थापित (इमेज)

काठमाडौं, साउन १४ । गृहमन्त्री रामबहादुर थापाले कार्यभार सम्हालेलगत्तै काठमाडौं उपत्यकामा रहेका केन्द्रीय कारागार, नख्खु कारागार र सदरखोर डिल्लीबजारको अनुगमन गरेर कारागारको अवस्थाबारे जानकारी लिए ।

सोहीक्रममा उनले कारागारको अवस्था दयनीय रहेको भन्दै तत्काल सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री थापाले कारागारको क्षमता विस्तार, भौतिक संरचना पुनःनिर्माण, सहज स्वास्थ्य सेवा उपलब्ध, खानपानको राम्रो व्यवस्था, सिदा खर्चमा वृद्धि, शौचालय निर्माण र कैदीबन्दीको सीप विकास गर्ने घोषणा सोहीक्रममा गरेका थिए ।

गृहमन्त्रीले घोषणा गरेको पाँच महिना बित्न लाग्दा पनि कारागारको अवस्थामा खासै सुधार आउन सकेको छैन ।

मुलुककै सबैभन्दा ठूलो दुई हजार ८१९ जना कैदीबन्दी रहेको केन्द्रीय कारागारमा सीसीटीभी जडानबाहेक भौतिक संरचना सुधारतर्फ कुनै काम हुन सकेको छैन ।

यो कारागारका बिरामी कैदीबन्दी भुइँमै सुत्न बाध्य हुँदै आएका छन् ।

कैदीबन्दीको चाप बढ्दै गएको र कारागारका सवारी–साधन पनि पुराना भएकाले सन्चालनमा समस्या भएको कारागार प्रमुख वेदनिधि अधिकारी बताउँछन् ।

राजधानीकै अर्को ठूलो र विशिष्ट व्यक्तिको छनोटमा पर्ने गरेको डिल्लीबजार सदरखोरमा केही सुधार भएपनि भौतिक संरचना निर्माणतर्फ कुनै काम हुन सकेको छैन ।

कारागारमा सीसीटीभी जडान र कैदीबन्दी भेटघाटकक्षलाई व्यवस्थित गर्ने काममात्र भएको कारागार प्रमुख अरुण पोखरेलले बताए ।

ललितपुरको नख्खु कारागारको अवस्था पनि उस्तै छ । गृहमन्त्रीको घोषणापछि केही सुधारको अपेक्षामा रहेको नक्खु कारागारको अवस्थामा आशातित सुधार हुन नसकेको कारागार प्रमुख टेकबहादुर केसी बताउँछन् ।

तर, देशभरका कारागारको नेतृत्व गरिरहेको कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीले भने गृहमन्त्रीको घोषणाअनुरुप सुधारको पहल भइरहेको बताए ।

देशभरका ७७ जिल्लामध्ये ७३ जिल्लामा ७४ ओटा कारागार छन् । अधिकांश कारागारको अवस्था दयनीय छ ।

कारागार सुधारको योजना सरकारले पटक–पटक बनाइरहे पनि व्यवहारमा लागू हुन नसक्दा देशभरका कैदीबन्दीको अवस्था दयनीय छ ।

भिडियो हेर्नुहोस्