Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


हिउँदे अधिवेशन कहिले ?


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, मंसिर १२ । संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्ने विषयमा सरकार अन्योलमा देखिएको छ ।

हिउँदे अधिवेशन आह्वानबारे सरकारले अहिलेसम्म कुनै तयारी गरेको छैन ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयमा कार्यरत् एकजना महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि असोज १४ गते सभामुख पदबाट राजनीमा दिएका थिए । महराको राजीनामापछि अहिले सभामुख पद रिक्त छ ।

हिउँदे अधिवेशनको पहिलो काम सभामुख चयन हुनेछ ।

तर, अधिवेशन आह्वान भइनसकेकाले नयाँ सभामुख चयन प्रक्रिया पनि सुरु हुनसकेको छैन ।

सभामुखको अभावमा संघीय संसदका दुवै सदनबाट पारित पाँचओटा विधेयक प्रमाणित हुनसकेका छैनन् ।

यस्तै, सभामुखको अभावमा संघीय संसदका लागि नयाँ कार्यक्रम बनाउन र नयाँ नीतिगत काम गर्न रोकिएका छन् ।

संसद सचिवालयका सचिव डा. भरतराज गौतमले आगामी अधिवेशनले सभामुख चयन गर्नुपर्ने भएकाले छिट्टै अधिवेशन आह्वान गर्नुपर्ने अवस्था रहेको बताए ।

सरकारले हिउँदे अधिवेशनको मिति आह्वान गरेमा तयारीका लागि संसद सचिवालयलाई एक साताको समय आवश्यक पर्ने गौतमको भनाइ छ ।

गत वर्ष पनि फागुनभित्रै संविधानअनुकूल नयाँ कानुन निर्माण गर्नुपर्ने भएकाले पुस दोस्रो साता हिउँदे अधिवेशन आह्वान गरिएको थियो ।

सचिवालयका सन्चारविज्ञ शेखर अधिकारीले सभामुख चयनलगायत संसदका नीतिगत कामहरु पनि रोकिएकाले हिउँदे अधिवेशन छिट्टै आह्वान हुने बताए ।

संघीय संसदको वर्षे अधिवेशन असोज २ गते अन्त्य भएको थियो ।

सभामुख नभएको अवस्थामा संघीय संसदको हिउँदे अधिवेशनअन्तर्गत् सभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् ।

संवैधानिक व्यवस्थाअनुसार संसदको एउटा अधिवेशन सकिएर अर्को अधिवेशन सुरु गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ । सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

अहिलेसम्म संघीय संसदका चारओटा अधिवेशन सकिएका छन् । २०७४ फागुन २१ गते वर्तमान संघीय संसदको पहिलो बैठक बसेको थियो ।