केपी ओलीको दावी–’नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु, हामीलाई निकाल्न बहुमत सदस्य मागे’ « Image Khabar


केपी ओलीको दावी–’नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु, हामीलाई निकाल्न बहुमत सदस्य मागे’


Imagekhabar
६ श्रावण २०७८, बुधबार २१:४४

काठमाडौं, साउन ६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको दाबी गर्नुभएको छ ।

नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भए पनि पार्टीमा बहुमत सदस्य खोजेकाले कुरा बिग्रिएको आरोप पनि उहाँलले लगाउनुभयो । दोस्रो अध्यक्ष बनाउन नेपालले राखेको माग पूरा गर्न आफू तयार रहेको कार्यदलका सदस्यहरुलाई भनेको दावी उहाँको थियो ।

केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो भएको भन्दै भन्नुभयो, ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ । १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’

एकता भएमा सबै संरचना ०७५ जेठ २ कै अवस्थामा पुग्ने बाट क्रियाशील हुने भन्दै ओलीले बैठकमा भन्नुभयो, ‘पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु । यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’

केन्द्रीय कमिटीमा बहुमत आफूहरुलाई निकाल्न खोजेको ? भन्ने प्रश्न गर्दै ओलीले त्यो सम्भव नरहेको पनि उहाँले बताउनुभएको हो ।

यसैबीच, एमालेले फ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६(५) लाई सच्याउन संविधान संशोधनका लागि एजेण्डा बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीले चारबुँदे विशेष प्रस्ताव पारित गर्दै सर्वोच्चको फैसलाले जस्केलाबाट निर्दलीयता छिराइएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि नै प्रहार भएकाले यसको संवैधानिक माध्यमबाटै समाधान गर्ने निर्णय एमालेले गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो, ‘भोलि आवश्यक पर्दा संविधान संशोधन गर्छौं र धारा ७६(५)को निर्दलीय व्याख्या भएको छ, त्यसलाई सच्याउँछौं ।’

प्रतिक्रिया दिनुहोस्