आधुनिक नेपालका असली अभियन्ता बीपीलाई कांग्रेसी पहिचानमा सीमित नगरौं « Image Khabar


आधुनिक नेपालका असली अभियन्ता बीपीलाई कांग्रेसी पहिचानमा सीमित नगरौं



हरिविनोद अधिकारी
बीपी कोइराला अर्थात विश्वेश्वरप्रसाद कोइराला अर्थात बीपी । बीपीलाई किन सम्झने ? के योगदान दिनु भएको थियो र नेपाली समाजलाई र सम्झनु पर्ने ? कहिलेसम्म सम्झना गर्लान् ? यी प्रश्नका उत्तरहरु कसले खोज्ने ? कृतज्ञ नेपालीहरु त अहिले पनि पनि उहाँका सिद्धान्तप्रति र उहाँले सुरु गरेको प्रजातान्त्रिक समाजवादप्रति बारम्बार बारम्बार समर्थन गरिरहेका छन् ।

उहाँको भौतिकरुपमा हामीसँग बिछोड भएको दिन थियो २०३९ साल साउन ६ गते अर्थात् उहाँको भौतिक उपस्थिति विनाको नेपाली राजनीतिको पनि ३९ वर्ष भयो अर्थात चार दशक पूरा हुन लाग्यो । आज पनि नेपाली राजनीति र साहित्यमा सबैभन्दा धेरै चर्चामा आउने पात्र उहाँ नै किन हुनुहुन्छ ? जब जब राजनीति र कूटनीतिको बाटो गलत दिशातिर मोडिन्छ, त्यो बेलामा किन उहाँके चर्चा बढी हुन्छ ? अनि अर्को पनि विशेषता देखिन्छ —नेपाली राजनीतिमा उहाँको सबैभन्दा समर्थन गर्नेकोे भीड पनि उस्तै छ र विरोधमा लागिरहनेहरुको लाम पनि उस्तै छ । तर आज त फेरि उहाँकै राजनीतिक सिद्धान्तप्रति नेपालमा सर्व स्वीकार्यता देखिएको छ संस्थागत प्रणालीका रुपमा । सायद त्यसैले होला आज पनि उहाँले नेपाली युवाहरुलाई आकर्षित गरिरहनु भएको छ ।

राजनीतिकरुपमा उहाँँले प्रतिपादन गरेको सिद्धान्तको विरोध राजनीतिकरुपमा, बहसमा र लेखनमा मात्र छलफल भएको होइन कि उहाँका सिद्धान्तका विरुद्धमा राज्य नै लागेर राज्यले नै उहाँलाई किन प्रतिबन्धित गरेको थियो र त्यो प्रतिबन्धको आधार कति बलियो र नैतिकरुपमा मान्य थियो ? सायद यसमा धेरै अनुसन्धान हुन बाँकी होला भविष्यमा तर वर्तमानमा पनि उहाँ उत्तिकै राजनीतिक फाँटमा सकारात्मकरुपले स्मरणीय हुुनुहुन्छ भन्ने कुराचाहिँ छर्लङ्गै छ । आजको नेपाली राजनीति पनि बीपीको समर्थन र बिरोधमा नै घुमिरहेको देखिन्छ । जसले आज पनि प्रजातन्त्रको विरोध गर्छ, त्यो राजनीतिक शक्ति घोर दक्षिणपन्थी मानिन्छ या घोर वामपन्थी मानिन्छ । मध्यममार्गी अनि अहिंसात्मक तरिकाले प्रजातन्त्रका पक्षमा अनवरत लाग्नु नै बीपीको अटल सिद्धान्त मानिन थालेको छ ।

२०१७सालमा राजाले नेपाली जनताप्रति गरेको अक्षम्य गल्तीका कारणले नै नेपालबाट राजतन्त्र उन्मूलन भएको अर्थ पनि लगाउन सकिन्छ जबकी बीपीको सिद्धान्तमा संवैधानिक राजतन्त्र थियो जहाँ राजा बेलायतमा जस्तै चुपचाप बस्नेछन् र जनताका प्रतिनिधिहरुलाई विना अवरोध शासन गर्न दिनेछन् । राजाले गल्ती गर्दैनन् किनभने राजा सक्रियरुपमा राजनीति गर्दैनन् । तर राजाबाट भएको जनविरोधी गल्तीले अनेक रुप ग्रहण गर्दै एकदिन घमाइलो दिनमा नै राजाले राजदरबार छोडेर हिँड्नु परेको थियो किनभने राजालाई राजनीतिक जननेताले जस्तै राजनीति गर्ने चस्का परेको थियो निरङ्कुशताको चस्का । जस्तो कि तानासाही शासकहरुमा देखिन्छ आज पनि ।

एकातिर देखिन्छ—उहाँको प्रजातन्त्रप्रतिको अविचल विश्वासप्रतिको सिद्धान्तले नेपालमा सर्व स्वीकार्यता प्राप्त गरेको छ तर फेरि लाग्छ, त्यसमा पनि विकृतरुपले बढी अनि प्रजातन्त्रका आधारभूत मान्यताले कम स्वीकार्यता पाएका छन् । तर उहाँको नेपाली माटोमा प्रजातन्त्रको आधारभूत मान्यतालाई विकसित गराउने र नेपाल एउटा आदर्श प्रजातान्त्रिक देशको रुपमा विकास हुन भने सकेको पाइँदैन ।

बीपीलाई मान्ने भनेको आफ्ना राष्ट्रियतासम्बन्धी धारणामा अडान लिँदै त्यसमा देशमा र विदेशीहरुलाई समेत मनाउने क्षमतालाई लिन सकिन्छ । तर त्यसमा प्रजातन्त्रको सर्वव्यापी सिद्धान्तमा कुनै क्षति हुन दिनु भएको थिएन भन्ने इतिहासको निष्पक्ष अध्ययनले देखिन्छ । जस्तोसुकै कष्ट र दुःख परे पनि , जस्तोसुकै संघर्ष गर्नुपरे पनि पटक्कै नडराउने र आफ्ना सिद्धान्तमा अरुलाई पनि मनाउँदै, समेट्दै अघि बढ्ने देखिन्छ ।

जीवनको उत्तराद्र्धमा उहाँमा सबैसँग मिलेर राष्ट्रियता जोगाउने अनि प्रजातन्त्रका पक्षमा र प्रजातान्त्रिक प्रणालीका सम्बन्धमा कसैसँग सम्झौता नगर्ने किनभने राजा र प्रजातन्त्र विरोधीहरुले एउटा भ्रम बाँडेका थिए —प्रजातन्त्रमा राष्ट्रियता कमजोर हुन्छ । आजको एक्काइसौँ शताब्दीमा पनि जुनकुरो तानासाही शासन प्रणालीमा लागू भइरहेको छ । प्रजातन्त्र र मानव अधिकारका देसैपिच्छे फरक मान्यता हुँदैनन्, प्रत्येक मानवका लागि अत्यावश्यक अधिकारको प्रत्याभूतिसहितको शासन प्रणालीलाई नै बीपीले प्रजातन्त्रको एकीकृत मान्यता बनाउनु भएको थियो र त उहाँले यो मान्यता विकसित देशमा समेत स्वीकार्य गराउन बाँचुन्जेल कोसिस गर्नुभयो ।

बीपीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको अनुपम धारणाको त्रिवेणीको रुपमा जीवनभर आफूलाई समर्पण गर्नुभयो । मात्र १८ महिना प्रधानमन्त्री पदमा रहँदा पनि आफ्नो प्रजातान्त्रिक समाजवादको व्यावहारिक सिद्धान्तलाई मूर्तरुप दिन जसरी नेपाललाई तयारी गर्नुभयो, आफैँमा परिवर्तन गर्नुभयो र नेपालमा एउटा नयाँ सम्भावनाको ढोका खोल्न लाग्नुभयो, त्यसबाट प्रतिक्रियावादीहरु आत्तिएर उहाँको सरकारमात्र अपदस्त गरेनन्, नेपालमा जनताको शासन अविच्छिन्न रहने भयो भनेर सर्वव्यापी स्वीकार्य वहुदलीय संसदीय व्यवस्थासमेतको हत्या गरी मुलुकमा दलविहीनताको कालो कोठरीमा पसाइयो जसको प्रतिध्वनि आज पनि नेपालमा गुन्जिरहेको छ ।

नेपालमा परिवर्तनहरु त भए, प्रजातन्त्र पुनर्स्थापना पनि भयो तर जनतामा त्यसको परिणामले मूर्तरुप लिन सकेन । यसरी निमित्त नायकको रुपमा नेपालमा प्रजातन्त्रको हत्या गर्न प्रजातन्त्र विरोधी, निरङ्कुश शासकका रुपमा उदाएका राजा महेन्द्रसँग बीपीले यदि पदका लागि मात्र सम्झौंता गर्नुभएको भए, मुलुक र प्रजातन्त्रप्रति चट्टानी अडान नदेखाउनु भएको भए जसरी नेपालमा त्यसपछि पनि बर्षैपिच्छे धेरै प्रधानमन्त्री भए र सिंहदरबारमा फोटो राख्ने काम गरको भए आजको अवस्थामा पनि मुलुक आउने थिएन ।

तर पनि उहाँलाई सम्झने भनेको प्रजातन्त्रप्रति हृदयदेखि नै समर्पित नेताको रुपमा हो र नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताको यसरी प्रयोग गर्नुभएको थियो कि एउटा नेपाली नेताको छवि विश्वभर प्रजातन्त्रप्रति संघर्षशील अनि कार्यान्वयनका लागि समर्पित त्यागी नेताको रुपमा चित्रित भयो । र साँच्चैको असंलग्नताको यसरी प्रदर्शन गर्नुभयो कि आज पनि त्यही नीतिको बारेमा नेपालले गर्व गर्न लायक उदाहरण दिइने गरिन्छ । हामीसँग आज पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने राजनेताको रुपमा उहाँकै नाम लिनु पर्छ जसले मुलुकको नयाँ युगको सूत्रपात गर्ने र नेपाललाई प्रजातान्त्रिक मुलुकको रुपमा चिनाउने काम गर्नुभयो विश्वमा ।

भारत, चीन, रुसजस्ता देशहरुले मान्यता नदिएको इजरायलसँग दौत्य सम्बन्ध राख्ने र इजरायलको दूतावाससमेत नेपालका खोल्न दिने हिम्मत उहाँसँग मात्र थियो । चीनको सेनाबाट मुस्ताङ्मा भूलवश भएको नेपाली सेनामाथिको आक्रमण र हत्याको विषयमा भारत र चीनसँगको सम्बन्धलाई उहाँले यसरी परिभाषित गर्नुभयो र समस्याको समाधान नेपालले नै शान्तिपूर्ण तरिकाले गर्न सक्छ भन्ने कूटनीतिक साहसको प्रदर्शन गर्नुभयो ।

भारतका शक्तिशाली नेता तथा तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु र चीनका शक्तिशाली नेता तथा तत्कालीन प्रधानमन्त्री चाउएनलाईहरु सँगको असंलग्न तर समानताको सम्बन्धले देखाउँछ कि एउटा सानो देशको नेताले पनि कसरी छिमेकका शक्तिशाली नेताहरुसँग पनि समानताको हक र समान स्वतन्त्र देशको अधिकार प्रयोग गर्न सक्छ ।

यसरी संसारलाई प्रजातन्त्र, मानव अधिकार, असंलग्नता्, समानता, समाजवादको नयाँ भाष्य दिन सक्षम नेताको नेपालमा सदुपयोग हुन सकेन भन्ने गुनासो राजनीतिक पर्यवेक्षकहरुले अहिले पनि गर्छन् । बीपी कोइरालाको सिद्धान्त प्रत्येक प्रजातन्त्रवादीको साझा सम्पत्ति हो र खासगरी उहाँले स्थापना गरेको पार्टी नेपाली काङ्ग्रेसको झन बढी दायित्वभित्र पर्ने हो तर बीपीका सिद्धान्तलाई अरुले सर्व स्वीकार्यरुपमा सम्मान गर्न थाल्दा पनि बीपीका आदर्शहरुलाई कार्यरुपमा वास्ता नगरी नेपाली काङ्ग्रेसमा उहाँको जन्मदिन, स्मृति दिवस र राष्ट्रिय मेलमिलाप दिवसमा खुम्च्याएर राखिएको छ ।

यी हरफ लेख्दासमेत दल कसरी कब्जा गर्ने भनेर अनेक गुट उपगुटहरुको आफ्ना आफ्नै रणनीति छन् र पार्टीप्रति आस्थावान र असली प्रजातन्त्रवादीहरुप्रति कुनै वास्ता नगरी दलभित्र आन्तरिक प्रजातन्त्रको भाँडभैलो देखिएको छ । बेलैमा आन्तरिक प्रजातन्त्रको व्यवस्था नगरी जसरी हुन्छ एउटा फगत दलको मात्र अस्तित्व देखाउन खोजिएको छ । बीपीको नेपाली काङ्ग्रेस भनेको त नेपाली समाजलाई समानता, सामाजिक न्याय र राजनीतिक स्वतन्त्रताका लागि रुपान्तरण गर्ने आन्दोलनका रुपमा विकसित हुनुपर्ने थियो ।

र अन्त्यमा, बीपीका वारेमा कृतज्ञ नेपालीहरुले अब उहाँका देनहरुका बारेमा अनुसन्धान गर्ने बेला भएको छ र भावी पुस्ताका लागि बीपी भन्ने राजनेता हुनुहुन्थ्यो जसले केके गर्नुभयो नेपालको स्थायित्वका लागि, राष्ट्रियता सम्बद्र्धनका लागि, मानव अधिकारका लागि र प्रजातन्त्रका माध्यमबाट मुलुकको चौतर्फी विकासका लागि भन्ने देखाउनु परेको छ । बीपी भन्नुहुन्थ्यो —म लेफ्ट ह्यान्डेड क्रिटिसिज्मको मारमा परेको छु । हुन त यो उहाँले साहित्यको बारेमा गरेको टिप्पणी थियो तर राजनीतिमा पनि उत्तिकै लागू हुन्छ । अर्थात् कसैले अति प्रशंसा गर्ने र देवत्वकरण गर्ने अनि कसैले अति विरोध गरेर अराष्ट्रिय तत्वसमेत भनेर जेलमा कोच्ने ।

बीपीले ७० वर्षअघि गरेका कल्पनाको नेपाल र त्यसका लागि गर्नुभएका योजनाहरु, देखाउनु भएको दूरदृष्टि र भविष्यवाणीहरु कति आज पनि पूरा हुन सकेका छैनन् । सिद्धान्ततः त्यसको पूरा गर्ने दायित्व नेपाली काङ्ग्रेसकै भए पनि उहाँका सार्वकालिक सिद्धान्तहरु नेपालका लागि थिए । नेपालको राजनीतिक स्थिरताका लागि थिए, नेपाली प्रजातन्त्रको दिगो विकासका लागि थिए र एउटा समृद्ध अनि स्वतन्त्र नेपालको अस्तित्वका लागि थिए ।

हामी जसले उहाँलाई भौतिक रुपमा देख्यौँ र उहाँका ती भावनाहरुलाई साक्षात् रुपमा सुन्न पायौँ, उहाँसँग दोहोरो अन्तरक्रिया गर्न पायौँ, ती शब्दहरु, ती क्षणहरु आज पनि कानमा गुन्जिरहेका छन् र आँखामा झल्झली आइरहेका छन् । र उहाँ प्रतिबन्धित नेता हुँदाहुँदै पनि उहाँको महायात्रामा निर्भय नेपालीहरु जसरी रुँदै कराउँदै पछि लागेका थिए, त्यो क्षण अविस्मरणीय छ र नेपाली इतिहासमा नेपाली जनताले अत्यन्त आदर गर्ने नेताको रुपमा सम्मान दिएको सम्झँदा लाग्छ—उहाँले नेपाली समाजमा आधुनिक नेपालको अभियन्ताको रुपमा आफूलाई यहीँ छोडेर जानु भएको छ । उहाँप्रति शब्द श्रद्धाञ्जलि र कृतज्ञ नेपालीहरुको तर्फबाट भन्नुपर्ने हुन्छ —बीपी अमर रहून् ।