जोन्सनको खोप लगाउन सुरु : १ लाख जोगिएकोमा युवा खुसी, वृद्ध भन्छन्- ‘अब त बाचिन्छ कि ?’ « Image Khabar


जोन्सनको खोप लगाउन सुरु : १ लाख जोगिएकोमा युवा खुसी, वृद्ध भन्छन्- ‘अब त बाचिन्छ कि ?’


Imagekhabar
४ श्रावण २०७८, सोमबार १७:२९

काठमाडौं । कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले अनुदानमा दिएको कोभ्याक्स कार्यक्रम अन्र्तगत अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि बुधबारसम्म लगाइँदैछ ।

१ डोज मात्र लगाए पुग्ने यो खोप १३ लाख जनसंख्यालाई लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । १५ लाख खोप ५० देखि ५४ वर्ष उमेर समूहभित्रका सबै व्यक्ति, पूर्ण तथा अति अशक्त अर्थात् अपाङ्गताको ‘क’ र ‘ख’ वर्गमा रहेका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थी, सरसफाईकर्मी तथा स्वास्थ्यकर्मीलाई तीन दिनसम्म लगाइनेछ ।

खोप अनिवार्य गरेको देशमा जानेहरूलाई सरकारले भेरोसेल लगाउने निर्णय गरेको थियो । तर, रोजगार दाता देशले भेरोसेल खोपलाई स्वीकृति नदिएका कारण अन्तिम समयमा जोन्सनको खोप लगाउने निर्णय गरिएको खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारमा जाने व्यक्तिहरु खोप लगाउन पाएसँगै रोजगारी जोगिएकामा निकै खुसी भएका छन् । खोप लगाएर जानेहरूका लागि क्वारेन्टाइन बस्नुनपर्ने भएकाले पनि वैदेशिक रोजगारका जानुपर्ने यात्रुहरू खुसी भएका छन् । क्वारेन्टिन बस्नुपर्दा करिब १ लाख रुपैयाँभन्दा बढी खर्च हुने भएकाले आफूहरू चिन्तामा परेकोमा खोप लगाउन पाउँदा खुसी लागेको वीरगञ्जबाट रोजगारीका लागि साउदी जान लागेका युवा बताउँछन् ।

साउदी, कतार लगायतका खाडी मुलुकहरूले अमेरिकामा बनेको जोनसन, फाइजर, मोडर्नाको खोपलाई मात्र स्विकृति दिएका छन् । यस्तै खोप लगाउन पाएपछि ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्ति पनि निकै हर्षित देखिए । ‍’राेग नै कडा रैछ याे,’ खाेप लगाउन आउनुभएकी एक वृद्धा भन्नुहुन्छ, ‘खाेप लगाउन पाएपछ अब बाचिन्छ कि जस्ताे लाग्या छ ।’

नेपालमा हाल सम्म कोभिसिल्ड र भेरोसेल खोप ३५ लाखभन्दा धेरै व्यक्तिले लगाइसकेका छन् । यी दुई खोपको दोस्रो मात्रा ११ लाख ३० हजार व्यक्तिले मात्र पूरा गरेका छन् । सो अनुसार हाल सम्म नेपालको जनसंख्याको जम्मा ३ दशमलब ७६ प्रतिशत व्यक्तिले मात्र कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्