नेताको दुःख « Image Khabar


नेताको दुःख


पेशल आचार्य
४ श्रावण २०७८, सोमबार १२:५०

पेशल आचार्य

समाज परिवर्तनसँग जोडिएको र जनजीविकासँग अन्योन्याश्रित हुने भएकाले राजनीतिलाई जो सुकै ले म्यानले समेत आसावादी भएर हेर्ने गरेको पाइन्छ । हिजोको राजनीति र आजको राजनीतिमा आकास पाताल फरक हुँदे गएको छ । त्याग, निष्ठा, जेलजीवन र आर्दशको रानजीतिका ठाउँमा अहिले ‘मनी’ र ‘मसल्स’ हावी भएर गएका छन् ।

नेपालमै पनि पञ्चायतलाई देख्ने, भोग्ने र सुन्ने मानिसहरू अहिलेको गणतन्त्रात्मक शासनकाललाई तुलना गरेर हेर्छन् । पद, पैसा र पावर फराकिलो हुँदै गएको होला, मानिसका भौतिक सुखसुविधाहरू पृथक हुँदे गएका होलान् । समाजलाई हेर्ने मानिसको दृष्टिकोणहरूमा आमूल परिवर्तन भएको पाइन्छ । तर के समग्र परिश्रमी, मेहनती र गरिब मजदुर वर्गहरू अहिलेको यो राजनीतिक शैलीलाई मन पराइरहेका छन् त ?
मीमांशाका कसीहरूमा, अनुसन्धानका बाटाहरूमा र राजनीतिक यात्राका शैलीहरूमा समाजले धेरै प्रकार, प्रकृति र सोचका नेताहरू उत्पादन गरिरहेको हुन्छ । भनिन्छ, आवश्यकताका आधारमा एउटा देशले सबैथोक आयात गर्न सक्छ तर जस्तो प्रतिकूल परिस्थितिमा पनि नेता आयात गर्न सक्दैन । नेता त समयको चक्रमा, भोगाइको भट्टीमा र क्रान्तिको कालखण्डमा देशमा आफैँ स्वतः उत्पन्न हुने गर्दछन् ।

सात साले नेताहरूको जगमा काँग्रेस र कम्युनिष्टहरूको उदय भयो । पञ्चालतले पञ्चहरू बनाउने काम ग¥यो । राजा महेन्द्रले धेरै राजनीतिज्ञ र केही सम्भावना बोकेका राजनेताहरूको समेत राजनीतिक भविष्य डामाडोल बनाइदिए । पञ्चायती व्यवस्था लागू गरेर उनले धेरैलाई पञ्चायतमा ताने । अवसरहरू दिए र अनेक पदहरूमा डामी दिए । उनमा भिजन थियो । उनी र नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालामा व्यक्तित्वको टकराब भयो । फलतः बीपीले भारत निर्वासनको बाटो रोजे । सात आठ वर्ष त बीपीलाई राजा महेन्द्रले सुन्दरी जेलको कैदी बनाएरै राखे पनि । यी भए इतिहासका कुरा ।

वर्तमान इतिहासको सन्तान हो । भनिन्छ नि विगत् बाउ र आगत छोरा हो । जहिले पनि विगतले सिकाउने र आगतले सिक्ने काम गर्छ । यो राजनीतिमा अझ धेरै हुन्छ । नेपाली राजनीतिमा पनि भएको छ । ‘लिगेसी’का कारण नेपाली काँग्रेसका धेरै नेताहरू आदर्श र त्यागी थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा पनि त्यस्तै नेताहरूको लामो लर्को छ । तर अहिलेको समयमा आएर यी दुवै पार्टीहरूले भन्न त आफूलाई प्रजातन्त्रका लागि दशकौं लडेका पार्टी भन्छन् । माउ पार्टी भनेर पनि भनेका सन्दर्भहरू धेरै छन् ।

जतिजति समय अघि घर्किंदै गयो उतिउति राजनीतिक सोच, निष्ठा र कार्यशैलीमा घुनपुतली लाग्दै गयो । ठुला भनिएका पार्टीहरू बीचबीचमा बाटो बरालिएर ठालु प्रवृत्ति बोकेका पार्टीहरूमा रुपान्तरण हुँदै गए । इतिहासलाई पल्टाएर हेरेका खण्डमा त्यस्ता पात्र, प्रवृत्ति र घटनाहरू हाम्रै नेपालमा पनि धेरै भएका छन् । पञ्चायतमै पनि करिश्मा बाकेका नेताहरू थिए । केही प्रगतिवादी सोचका नेताहरूले रानजीतिलाई आफू बाँचुन्जेल आफ्नो इर्दगिर्दमै फन्फनी घुमाएथे ।

समयको रफ्तारले जनताका चाहना, भावना र विकासका सन्दर्भहरूलाई फेरिदिएका छन् । हिजोका मूल्य मान्यतामा आज धमिरा लागेको अवस्था छ । विदेशी सिको र वैदेशिक रोजगारमा गएका अतुल सम्भावना बोकेका युवा र युवतीहरूले जब देश फर्किएर आफ्नो सीप, बुद्धि र योग्यतालाई क्यास गर्नका लागि नयाँनयाँ तरकिब अपनाएर काम गर्न थाले अनि मानिसले बुझे कि नजान्दा मात्र नभएको रहेछ तर जान्दा त हुने रहेछ ।

पैसा, प्रविधि र प्रवृत्ति फेरियो । हिजोको जस्तो शासन आज छैन । हिजो पञ्चायतमा आदर्श बोकेका नेताहरू थिए तर जनतालाई बहुलवादमा जाने सुविधा र अधिकार दिइएको थिएन । हिजोका व्यक्तिहरू राजनीतिमा, समाजसेवामा र धार्मिक कार्यहरूमा समेत काम गर्दा माथिको आदेश भनेर डराउने गर्दथे । राजा थिए सबैका अभिभावकका रुपमा । अहिले पार्टीहरू छन् । तिनका नेताहरू छन् । तिनका नीति र व्यवहारहरू पनि छन् । तर तिनीहरू हिजोका राजा वा नेताहरूका तुलनामा कहाँ, किन र कसरी चुके यो सन्धानको विषय भएको छ ।

जसरी फराकिलो समाजको कल्पना गरियो अनि यो समाजमा पनि देशी विदेशी तत्वका इच्छाहरू सल्बलाए । हावी भए नयाँनयाँ खेलका क्रम उपक्रमहरू । बजाइए नयाँनयाँ बाजाका तालहरू । ती बाजाका तालमा हिँड्न वा गीत गाउनका लागि नेता र कार्यकर्ताहरू राजी भए । होलीवाइन् त्यसैको एउटा प्रमाण बन्यो । कतिपय अवस्थामा तिनीहरूलाई लिडरको भेषमा डिलर पनि बनाइयो । भारत, चीन, बेलायत, युरोपियन युनियन र अमेरिकाका कतिपय इन्स्ट्रेष्टहरू सफल पनि भए । अनि हावी भयो राजनीतिमा मायक्रो मनेजमेन्टका कुराहरू ।

अहिले हामीले सपाट शैलीमा राजनीतिलाई मूल्याङ्कन गर्न खोज्यौं भने त्यहाँ अनेक खालका धुमिल चित्रहरू अनेकानेक शैलीमा देखिन्छन् । कमिसनका चक्कर, उठापटक, गुटउपगुटका शैलीहरू, पुस थ्योरी र टेल थ्योरीमा आधारित भएर माथि उठेका नेता र कार्यकर्ताहरू अहिले ससाना घटना र परिघटनाहरूमा पनि विनाविच्चामा आएर भाइरल हुन चाहन्छन् । अहिले भरोसाको जमाना सकिएको हो जस्तो छ । हरेकले हरेकलाई यहाँ विवाद, प्रतिवाद र संवादमा ल्याएर आफू माथि उठ्ने चाहना राखेको छ । लगानी भयो विभिन्न पदहरू खरिद्नका लागि । जोसँग विभिन्न प्रकारका शक्ति, सौकात र सान छ ऊ माथि जाने भयो । बाद बाँकीहरू तलै रहने भए । यी र यस्ता कुराहरूले अहिलेका राजनीतिज्ञहरू दुःखी भएका छन् ।

आफूलाई ठूलो देखाउनकै लागि अरुलाई होच्याउने, छाँस्ने, छिमल्ने र पखाल्ने शैलीको शुरुआत भयो । नेकपाकै विवादमा प्रचण्ड र ओलीले गरेका दन्तबझान, भाषण र तिकड्मलाई हेर्ने हो भने लाज भन्ने जिनिश पनि लजाउन थाल्छ । नेपाली काँग्रेसमै पनि गुटको वीजारोपण छत्तीसे र चौहत्तरैबाट भएकै हो । अहिले पनि देउवा गुट, रामचन्द्र गुट, सिटौला गुट र निधी गुट को बलियो भन्ने शीतयुद्ध चलिरहकै हुन्छ । हरेक ठूला पार्टीमा यस्ता प्रकारका आग्रह, पूर्वाग्रह र विग्रह देखिन्छन् । यो भोलिको राजनीतिक भविष्यका लागि कदाचित् सुखानुभूतिको विषय होइन ।

अहिले हामी अनुभूत गर्न सक्छौं प्रचण्डको दुःख बेग्लै छ । ओलीको दुःख बेग्लै छ । माधव नेपाल, शेरबहादुर देउवा र उपेन्द्रको दुःख अलग्गै छ । अझ बाबुरामका दुःखहरूको फेहरिस्त हाल्ने हो भने ती अझ केटौले पाराका देखिन्छन् । साठी कटेका नेताहरूको कार्यकारी पदमा जान नपाएको दुःख, आफ्ना पत्नी, छोरी र आफन्तलाई पद दिन नपाएको दुःख नै सतहमा देखिन्छन् । बाँचुन्जेल गिरिजाप्रसाद कोइरालाजस्ता टावर व्यक्तित्वको नाम साटेर उनकै पुत्रीले काँग्रेसमा हालिमुहाली गरेकी हुन् । त्यसपछि पनि कहिले बाबुराम शक्तिमा हुँदा उनकी पत्नीको हाँपझाँप हेर्नलायक देखिन्थ्यो ।

बहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको शक्तिको लागि भएका ऐतिहासिक झगडाहरूलाई हामीले हेर्न हो भने ती केवल राजा रणबहादुर शाहको नायबी हुनका लागि मात्र भएका पक्कै होइनरहेछन् । शक्ति र सत्या हत्याएर मानिस त्यसको समूल प्रयोग गर्दै आम र अन्य मानिसहरूभन्दा ठूलो र ठालु देखिन चाहने प्रवृत्ति नै राजनीतिको दुःख हो । चाहे त्यो गिरिजा पुत्री सुजातामा देखियोस् या प्रचण्ड पुत्री रेणुमा देखियोस् ।

गणेशमानजस्ता त्यागी र आदर्शवादी नेताले जीवनको उत्तरार्धकालमा आएर मंगलादेवी र दुर्गेशमान सिँहको पद प्राप्तिका लागि रडाको झिकेको इतिहास हामीले देखेभोगेको नै हो । उत्तराधिकारी वसियतनामा गरेर पाइन पद होइन तर नेपालमा भएका छन् । लोग्नेको विराशतमा स्वास्नी उभिने प्रवृत्ति किमार्थ राम्रो होइन । क्रान्तिमा, परिवर्तनमा वा समाजको वृहत्तर हितमा लागेका छन् भने नेताका पुत्रपुत्री वा पत्नीले पनि अवसर पाउनुपर्छ नत्र गुटमा रमाएर एउटालाई काखा र अर्कोलाई पाखा बनाएर गरिने पदको पजनी लोकतन्त्रमा पक्कै राम्रो हुँदैन ।

सयौं दृष्टान्त छन् लोकतन्त्र कालमा पनि आफ्ना नातेदार र आसेपासेका खातिर पदका लागि नेताहरूले गरेका गिड्गिडाहट्हरू । त्यो कहिले विना मगर बनेर राजनीतिक आकासमा देखिन्छन् भने कहिले बादल–नैनाकाला बनेर या कहिले जुली–रघुवीर बनेर । समग्रमा नेता समाजको हुने हो । विचारको पोया खिरिलो हुने नेता हुने हुन् । बैँकको खजान्चीजस्तो पद नेताको होइन तर भएको छ यस्तै । निर्वाचनमा टिकट बाँड्दा वा राम्रो मान्छेभन्दा आफ्नो मान्छेको छनोट गर्दा । यी नै नेताका दुःख हुन् । यो मानेमा अहिलेका नेता धेरै दुःखी छन् ।

प्रतिक्रिया दिनुहोस्