१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


नेपाललाई अझै खोप सहयोग गर्ने चिनियाँ प्रतिवद्धता


0
Shares

काठमाडौं, असार २८ । चीनले नेपाललाई कोरोनाविरुद्धको थप खोप सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गरेको पत्रकार सम्मेलनमा नेपाललाई थप खोप सहयोग गर्न चीन तयार रहेको जानकारी दिनुभएको हो ।

१८ लाख डोज खोप अनुदान दिएको चीनसँग नेपालले ४० लाख खोप भने खरिद गरेको छ । कोभिड–१९ को शुरुवातमा नेपालले चीनलाई सहयोग गरेको सहयोग उल्लेख गर्दै राजदूत होउले चीनले अहिले १० वटा कोभिड–१९ खोप उत्पादन गरिरहेको जानकारी पनि दिनुभयो ।

दश मध्ये दुई खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ भने नेपालमा सिनोफार्मको भेरोसेल खोप प्रयोगमा ल्याइएको छ ।

नेपाललाई कति मूल्यमा खोप बेचिएको हो भन्ने संवाददाताहरुको प्रश्नमा राजदूत होउको जवाफ थियो, ‘हामीले खोप सहकार्यअन्तर्गत विश्वका एक सय मुलुकलाई सहयोग गर्दै आइरहेका छौं । सबै मुलुकसँग यही अन्तर्राष्ट्रिय प्रक्रियाअनुसार गरिएको हो । चीन र नेपालबीचको खोप सहकार्यअनुसार खोप ल्याइएको हो ।’

उत्तरी नाकाहरुबाट संकटका बेला पर्याप्त सहयोग हुन नसकेको सन्दर्भमा बचाउ गर्दै राजदूत होउले नेपालतर्फको उत्तरी दुई नाका तातोपानी र रसुवागढीमा राजनीतिक समस्या नभई प्राविधिक भएको भन्दै विस्तारै समस्यालाई समाधान गरिने बताउनुभयो ।

‘अहिले नै नेपालले ४० लाख डोज खोप किनिरहेको छ। आउने दिनमा हामी अरू धेरै खोप नेपाललाई दिन्छौं,’ राजदूत यान्छीले भनिन्,‘चीनको खोप उत्पादन क्षमता दिनदिनै बढिरहेको छ। त्यहीअनुसार नेपाललाई पनि दिने खोप बढाउँछौं।’

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा गरिएको पत्रकार सम्मेलनमा राजदूत यान्छीले एक वर्षको यस अवधिमा चीनले गरेको प्रगतिकोबारे चर्चा गर्दै नेपाल चीनको पुरानो, भरपर्दो साथि र छिमेकी भएको उल्लेख गर्नुभयो ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा दक्षिण एशियाली मुलुकहरूलाई विपद् पर्दा चाहिने सामग्रीको भण्डारण गर्न लागिएको जानकारी पनि उहाँले दिनुभयो ।