एमाले कार्यदलको बैठक आज पनि, सहमति गरेर हस्ताक्षर हुने नेताहरुको दावी « Imagekhabar – Online News Portal of Nepal


एमाले कार्यदलको बैठक आज पनि, सहमति गरेर हस्ताक्षर हुने नेताहरुको दावी


0
Shares

काठमाडौं । पार्टीमा आन्तरिक विवाद बढेसँगै गठन भएको नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ ।

पछिल्ला केही दिनदेखि निरन्तर छलफल गरिरहेका कार्यदलले आजको बैठकमा सबै विवादको समाधन गर्ने नेताहरुले दावी गरेका छन् ।

बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

हिजोको बैठक पछि कार्यदलका सदस्य घनश्याम भुसालले केही दिनदेखि निरन्तर छलफल गरिरहेको कार्यदलमा केही प्रगती नभएको बताउनुभएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भएको भेटवार्ता पछि बसेको बैठकपछि कार्यदलका सदस्यहरुले चाँडै नै सहमति हुने दाबी गरेका थिए ।

एमालेले आन्तरिक विवाद मिलाउन ओली पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच जना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यसैगरी नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।