Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता


0
Shares

काठमाडौं, साउन १३ । प्रमुख विपक्षी नेपाली कांग्रेसका तीन सांसदले बी एण्ड सी अस्पतालका सञ्चालक तथा व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

सांसद डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा सांसद लक्ष्मी परियार र प्रमिला राई छन् ।

प्रसाईंले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्ति दिएर संविधान र कानुनको उल्लंघन गरेको उनीहरुको दावी छ । प्रस्तावमा स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न बाध्य चेलीबेटीप्रति प्रसाईंले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथि धावा बोल्ने काम भएको उल्लेख छ ।

सञ्चालक प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत छात्राहरुमाथि यौन दुर्व्यहार हुने गरेको अभिव्यक्ति दिएका थिए ।

‘हाम्रो संविधानले कुनै पनि धर्म, जात, जाति, लिंग, भाषा वा क्षेत्र कुनै पनि आधारमा भेदभाव गर्न नपाइने मात्र होइन, हाम्रो विद्यमान कानुनले कुनै पनि व्यक्तिलाई सार्वजनिक स्थानमा अश्लिल बोली, बचन, इशारा प्रयोगमा निषेध गरेको छ,’ प्रस्तावमा भनिएको छ ।