
काठमाडौं । नेपालले चीनसँग खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोप २४ असारबाट आउने भएको छ । त्यसपछि साप्ताहिक रुपमा चरणवद्ध खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको संझौताअनुसार २४ असारबाट आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ, मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्रोतकाअनुसार खोप लिन २४ असारमा नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदैछ । चीनबाट कति मूल्यमा कति डोज खोप खरिद गरिएको भन्ने सरकारले खुलाएको छैन । चिनियाँ कम्पनीसँगको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार मूल्य सार्वजनिक नगरिएको स्रोतको भनाइ छ ।
चीनले देशअनुसार फरक–फरक मूल्यमा खोप बिक्री गरेको छ । मूल्य भने सार्वजनिक गरेको छैन । श्रीलंकालाई उपलब्ध गराएको मूल्यभन्दा सस्तोमा नेपाललाई उपलब्ध गराउने अपेक्षा नेपालको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार १५ डलरभित्रमा नेपालले खोप पाउने सम्भावना छ । चीनले पनि १४ देखि १७ डलरको आसपासमा उपलब्ध गराउने संकेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्