
काठमाडौं । सिन्धुपाल्चोकमा मेलम्ची खोलाको बहाव फेरि बढेको छ । केही दिन अघिमात्र ठूलो क्षति व्यहोरेका स्थानीयवासी फेरि आएको बाढीबाट झनै त्रसित बनेका छन् ।
गत असार १ गते र ५ गतेको बाढीले मेलम्ची र आसपास ब्यापक क्षति गरेको थियो । त्यतिबेलाको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमीनसमेत अहिलेको वर्षाले कटान गरिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको छ ।
सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
सिन्धुपाल्चोक प्रहरीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्