Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


तरुण दलका नगरसभापति जेल चलान


0
Shares

 बाँके । हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार धरौटी माग गरिएको छ ।

सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गत कात्तिक १४ गते राति साढे ८ः०० बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई प्रहरीले पक्राउ गरेको थियो ।(रासस)