
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम टुंगो लगाउन नसक्दा अन्योल बढेको छ ।
प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा टुंगो लगाउन आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक पनि निष्कर्षविहीन भएको छ ।
सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरुबीच एक मत हुन नसकेपछि बैठक भोलि दिउँसो २ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो ।
प्रधानन्यायाधीशमा प्रस्तावित जोशीमाथिको सुनुवाइ गत बिहीवार नै सकिए पनि समितिले उहाँको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय लिन सकेको छैन ।
उहाँको नाम अस्वीकृत गर्न समितिमा हाल कायम १५ सदस्यको दुई तिहाई सदस्यको समर्थन आवश्यक पर्छ ।
शैक्षिक प्रमाणपत्र, सर्वोच्चसहित बिभिन्न अदालतमा रहँदा न्यायाधीशका रुपमा उनले गरेका फैसला समेत विवादमा तानिएपछि समिति सदस्यबीच नै मत बाँझिएको छ ।
समितिमा सत्तारुढ नेकपाका ९ र संघीय समाजवादी फोरमका एक जना सदस्य छन् ।
जुन कुल सदस्य संख्याको दुई तिहाई हो । कांग्रेसका ४ र राजपाबाट एक जना सदस्य छन् ।
संवैधानिक परिषद्ले गत जेठ २९ गते नै उहाँको नाम प्रधानन्यायाधीशमा सिफारिस गरे पनि सुरुमा समिति गठनमा भएको ढिलाई र पछि जोशीसम्बन्धी पछिल्ला समय बाहिर आएका तथ्यका कारण संसदीय समितिले निष्कर्ष सुनाउन नसकेको हो ।
एनसेलको कर छली, सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा पास गराएको, चुणामणि शर्मा प्रकरण, बिशाल बजारलगायत मुद्दाको फैसलामा जोशी प्रत्यक्ष संलग्न रहेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्