यो गठबन्धन संविधानको रक्षाका लागि हो, प्रधानमन्त्रीको संघर्षका लागि होइन– अध्यक्ष दाहाल « Image Khabar


यो गठबन्धन संविधानको रक्षाका लागि हो, प्रधानमन्त्रीको संघर्षका लागि होइन– अध्यक्ष दाहाल


Imagekhabar
१० असार २०७८, बिहीबार १८:१३

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताउनुभएको छ ।

बिहीबार सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरू बीचको गठबन्धन सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकाले लामो समयसम्म सँगसँगै जानसक्ने बताउनुभयो । उहाँले संविधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रीत रहेर गठबन्धन बनेको बताउनुभयो । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको रहेको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले ०४६ साल र ०६२÷०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिले पनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपु¥याएकाले आन्दोलन सफल हुने बताउनुभयो । ‘यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन,’ उहाँले भन्नुभयो, ‘यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बिचको लडाइँ हो, सिस्टम बचाउने वा नबचाउने भन्ने बीचको लडाइँ हो ।’

अध्यक्ष दाहालले सर्वोच्च अदालतमा आफूहरूको कुनै सेटिङ नभएको बताउनुभएको छ । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसला अघि आफूले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उहाँले आफूहरू सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उहाँको आरोप छ । राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उहाँको ठहर छ । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अधयक्ष दाहालले एमसीसीको सम्बन्धमा संसदबाट सहमति गराएर राष्ट्रिय हित अनुकुल अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्