कानूनी रुपमा मात्र विभाजन हुन बाँकी एमाले, दुबै पक्ष फुटको आौपचारिकता कुर्दै « Image Khabar


कानूनी रुपमा मात्र विभाजन हुन बाँकी एमाले, दुबै पक्ष फुटको आौपचारिकता कुर्दै


खिलनाथ ताजपुरीया
८ असार २०७८, मंगलवार २०:२९

खिलनाथ ताजपुरीया

काठमाडौं, असार ८ । अन्ततः नेपाल कम्युनिष्ट पार्टी एमाले विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटीकै निरन्तरता चाहने र वरिष्ठ नेता माधवकुमार नेपाल समूह कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन तयार नहुने परिस्थितिले एमाले विभाजनको डिलमा पुगेको हो ।

वार्ताको नाटक मञ्चन गरिरहने तर एमाले महाधिवेशन कमिटीलाई निरन्तरता दिने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको प्रयासमा पार्टी एकता भंगको अभिप्राय लुकेको टिप्पणी वरिष्ठ नेता माधवकुमार नेपालले गरिसक्नु भएको छ । राजनीतिक हिसाबले पार्टी फुटिसकेको तर ओली कानुनी रुपमै एमाले विभाजनमा लागेको आरोप नेपाल निकट नेता विरोध खतिवडाले लगाउनु भएको छ ।

ओलीले प्रतिनिधि सभा विघटनको निर्णय नसच्याएको, एमाले नेताहरुलाई अनुचित कारबाही गरेको र नवौं महाधिवेशनबाट निर्वाचित कमिटी तथा विधान लागू गर्न सर्वोच्च अदालतले दिएको आदेश विपरित महाधिवेशन आयोजक कमिटीलाई कायम राख्न अदालतमा भ्याकेटको माग गरेपछि पार्टी एक हुने सम्भावना लगभग समाप्तभएको नेपाल पक्षको ठहर छ ।

उसो त ओलीपक्षले पनि नेपाल पक्षले एमाले फुटाउनै खोजेको आरोप लगाएको छ । पार्टी अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन दिएको निर्देशन नमानेर नेपाल पक्षले एमाले विभाजन नै रोजेको ओली निकट नेता खेम लोहनीको भनाई छ ।

दुबै पक्षले एमाले कानुनतःविभाजित हुन मात्र बाँकी रहेको जिकिर गरिरहँदा एकताका लागि भइरहेको भनिएको वार्ता निरर्थक बन्ने देखिएको छ । दुबै पक्षका नेताको भनाईलाई आधार मान्ने हो भने एमाले फुटेको घोषणा हुन मात्र बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्