
काठमाडौं, असार ८ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दिएको भ्याकेट निवेदन माथिको सुनुवाई न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलाशमा हुँदैछ ।
उक्त निवेदनको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलाश तोक्नुभएको हो ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय समितिसरह काम कारवाही गर्ने अधिकार नभएको भन्दै सर्वोच्चले दिएको अन्तरिम आदेश उत्प्रेषणको आदेशमार्फत् खारेज गर्न भ्याकेट निवेदनमा माग गरिएको छ ।
केन्द्रीय समिति खारेज गरी दशौं महाधिवेशन कमिटी बनाउनु भएका ओलीले सोही कमिटीको बैठकमार्फत् कर्णाली प्रदेशका प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई ह्वीप उल्लंघनमा कारबाही गर्नुभएको थियो ।
पार्टीको उक्त कारवाहीविरुद्ध अदालत गएका सांसदहरुको माग सम्बोधन गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलाशले पार्टीको निर्णय अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन नै केन्द्रीय कमिटीले गरेकाले आयोजक समितिलाई कार्यकारी अधिकार हुनुपर्ने जिकीर ओलीको छ ।
यता, पार्टीभित्र ओली र माधव नेपाल पक्षबीच सहमतिको प्रयास भइरहँदा नेपाल पक्षका सांसदलाई कार्वाही नगर्न अदालतले दिएको आदेशविरुद्ध ओली नै भ्याकेटमा गएकामा नेपाल समूह सशंकित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्