बैतडीमा पहिरोले ७ घरपरिवार विस्थापित, बस्ती नै जोखिममा « Imagekhabar – Online News Portal of Nepal


बैतडीमा पहिरोले ७ घरपरिवार विस्थापित, बस्ती नै जोखिममा


0
Shares

विनोद सिंह विष्ट
बैतडी । लगातारको वर्षाका कारण बस्तीमाथिबाट पहिरो खस्दा पञ्चेश्वर गाउँपालिका–२ गैरटोलका सात घरपरिवार विस्थापित भएका छन् । शनिबार बिहान खसेको पहिरोले स्थानीय कृष्णराम औजीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

बस्तीमाथिबाटै पहिरो खसेपछि कृष्णसँगै जोखिममा रहेका अन्य ६ परिवार पनि विस्थापित भएका पञ्चेश्वर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष दशरथ मंगोलाले बताउनुभयो । ‘विस्थापित भएका परिवारलाई अहिले देवथला माविको भवनमा राखिएको छ,’ उहाँले भन्नुभयो, ‘पहिरोले ७ परिवार विस्थापित भएका भए पनि मानवीय क्षति भने भएको छैन ।’

यस्तै स्थानीय रमेशराम औजी, देवानीराम औजी, गोविन्दराम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका छन् । बस्तीमाथिबाट काटिएको कुलाउ–डिम्बरघाट सडकखण्डका कारण पहिरो खसेको स्थानीयको भनाइ छ । निरन्तरको झरीले पहिरो खस्ने क्रम अझै नरोकिएको स्थानीय मोहन चन्दले बताउनुभयो ।

बस्तीमाथि खसेको पहिरो ।

यसैबीच लगातारको बर्षाका कारण खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका–७ को कैलपाल मावि झाड्बोको भवनमा क्षति पुर्याएको छ । भवनमाथिबाट शुक्रबार राति खसेको पहिरोले विद्यालयको तीन कोठे भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको हो ।

६ वर्ष पहिला ८ लाखको लागतमा निर्माण भएको सो भवनमा पहिरोले क्षति पुर्याएपछि पठनपाठनमा समस्या हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महराले बताउनुभयो ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा केही दिनदेखिको लगातार रुपमा वर्षा भइरहेको छ ।