काठमाडौं, कात्तिक २७ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार अपराह्न शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–बंगलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श भएको थियो ।
बुधबारै राष्ट्रपति हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिष्टाचार भेट गरे ।
भेटमा उनीहरूबीच विद्यमान पारस्परिक सम्बन्धका सबै पक्षबारे छलफल भएको थियो ।
दुई देशबीचको विद्यमान घनिष्ठ एवं परम्परागत सम्बन्धलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्ने विषयमा पनि उनीहरूबीच गहनरुपमा विचार आदान–प्रदान भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
मन्त्री ज्ञवालीकाअनुसार बंगलादेशका राष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्ने नेपाल सरकारको संकल्प साकार पार्न आफ्नो देशले हरसम्भव सहयोग गर्ने वचन प्रधानमन्त्रीलाई दिएका थिए ।
दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बंगलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवर्द्धनलगायत आपसी चासोका विविध विषयमा पनि उनीहरूबीच विचार–विमर्श भएको थियो ।
नेपाललाई बंगलादेशले उपलब्ध गराउँदै आएका विभिन्न बन्दरगाहको उपयोग गर्दै नेपाली उत्पादनलाई बंगलादेशी बजारमा पुर्याउन तथा द्विपक्षीय व्यापार वृद्धिमा जोड दिइएको थियो ।
प्रधानमन्त्रीले ऊर्जा उत्पादनमा लगानी गर्न बंगलादेशका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्नसके यहाँ उत्पादन हुने ऊर्जा बंगलादेशमा खपत गर्न सहज हुने वास्तविकता राष्ट्रपतिलाई अवगत गराए ।
भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाईमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो ।
जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदान–प्रदान भएको थियो ।
बंगलादेशको स्वतन्त्रता संग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बंगलादेशलाई स्वतन्त्र राष्ट्रकारूपमा मान्यता दिने नेपाल सातौं मुलुक भएको स्मरण गर्दै राष्ट्रपतिले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताएका थिए ।
नेपालप्रति उनले कृतज्ञता पनि प्रकट गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका विशिष्ट अतिथि नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा छन् । रासस









प्रतिक्रिया दिनुहोस्