Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


वैदेशिक रोजगारमा जानेलाई क्वारेन्टिन खर्च सरकारले उपलब्ध गराउने


0
Shares

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् । बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णयसमेत गरेको छ ।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिने निष्कर्ष निकालेको छ ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

कुल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ । बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।

यसैगरी गैरआवासीय नेपालीहरुले पठाउन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।