हेटौंडा, कात्तिक २६ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भू–भाग फिर्ता नहुने बताएका छन् ।
नेपाली कांग्रेस प्रदेश नम्बर–३ का ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्रमा उनले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले कालापानी सदियौंकालबाट नेपालको भू–भाग भएको बताए ।
कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उनले कालापानीको भू–भाग एक इन्च पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।
सभापति देउवाले ऋण लिएर रेल चढ्ने कुराको कांग्रेसले समर्थन नगर्ने बताए । भारत या चीन दुवैले रेलमा अनुदान दिने भएमात्र रेल बन्नसक्ने उनको भनाइ थियो ।
उनले भने–‘भारत होस् कि चीन, ऋण लिएर रेल बनाउने काममा समर्थन हुन्न । प्रत्येक वर्ष ब्याज तिर्दै रेल चढ्ने कुरालाई समर्थन छैन ।’
नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टीमा आन्तरिक एकता आवश्यक रहेकोसमेत उनको भनाइ थियो । पार्टीमा एकता भएको अवस्थामा चुनावमासमेत विजयी हुने उनले बताए ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले अब नेपालको कम्युनिस्टसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
कम्युनिस्टहरुको विचार नै नभएको र बहुदलमा विश्वास गर्ने चरित्रसमेत नरहेको उनको आरोप थियो ।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय नेताहरु डा. शशांक कोइराला, डा. रामशरण महतलगायतले बोलेका थिए ।
भोलिसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर–३ का ६ जिल्लाका २९० महाधिवेशन प्रतिनिधिहरुको सहभागिता छ । रासस









प्रतिक्रिया दिनुहोस्