२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


सरकारले आन्दोलन गर्न बाध्य बनायो : देउवा


0
Shares

राजु चौधरी (इमेज)

चितवन, साउन १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कांग्रेसलाई आन्दोलन गर्न बाध्य बनाएको बताएका छन् ।

नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको १०औं राष्ट्रिय महाधिवेशनलाई शनिबार गैंडाकोटमा सम्बोधन गर्दै उनले कांग्रेसलाई आन्दोलन गर्ने रहर नभएको भन्दै जबर्जस्ती आन्दोलन गर्न बाध्य बनाइएको जिकिर गरे ।

‘सरकार ठीक ढंगसँग नचलेरै कांग्रेस आन्दोलनमा उत्रिनुपरेको हो’–उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली अप्रजातान्त्रिकरुपमा अघि बढेको आरोप लगाउँदै उनले लोकतान्त्रिक बाटोमा हिँड्न आग्रह गरे ।

उनले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै निरन्तर अनशन बस्दै आएका डा. गोविन्द केसीका माग सम्बोधन हुनु सकारात्मक भएको पनि उल्लेख गरे ।

सभापति देउवाले फरक राजनीतिक विचारसँग लड्ने बेला आएकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

संघ र प्रदेशको चुनावमा कांग्रेस अन्तर्घातका कारण पराजित भएको भन्दै  उनले अन्तर्घातको रोग नहटेसम्म कांग्रेस पछाडि परिरहने दाबी गरे ।

सोही कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुख दुवै एउटै पार्टीको भएको भन्दै यो संविधानप्रतिकूल रहेको दाबी गरे ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, सहमहमन्त्री डा. प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, रमेश लेखक, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीलगायतले आफ्ना भनाइ राखेका थिए ।

डेमोक्र्याटिक लयर्स एसोसिएसनको १०औं राष्ट्रिय महाधिवेशनले आइतबार नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

महाधिवेशनमा देशभरबाट एक हजार १३१ प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।