८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’


0
Shares

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको उद्देश्य निर्वाचन नगराई भ्याकुमको अवस्थामा मुलुकलाई पुर्‍याउनु रहेको ठहर गर्दै सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ। प्रतिनिधिसभा विघटन भएपछिको परिस्थितिबारे छलफल गर्न सभामुखले पूर्वप्रधानमन्त्री, दलका शीर्ष नेता र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई शुक्रबार बोलाएका थिए। संसद् भवन नयाँ बानेश्वरमा आयोजित छलफलमा पूर्वप्रधानमन्त्री तथा शीर्ष नेताहरूले संविधान असफल बनाउने प्रपञ्च प्रधानमन्त्री ओलीले गरेको भन्दै त्यसलाई रोक्न अहिल्यै सचेत भएर लाग्नुपर्ने निचोड निकालेका हुन्।

‘सर्वोच्च अदालतमा संसद् विघटनको मुद्दा विचाराधीन छ। यो असंवैधानिक कदम भएकाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने हामीलाई विश्वास छ। कथंकदाचित प्रतिगामी शक्तिको खेलमा संसद् पुनर्स्थापना भएन भने मुलुक संविधान नै असफल हुने दिशामा जानेछ। अहिले सभामुखले पनि यसमा सचेत भएर बस्नुपर्ने बेला आएको छ भन्ने निष्कर्ष रह्यो’, बैठकपछि एक सहभागी नेताले भने।

‘छ महिनाभित्र निर्वाचन हुन ओलीले नै दिँदैनन्। त्यसपछि हुने भ्याकुमको अवस्थामा खेल्ने रणनीति उनको हुनेछ। उनलाई कुनै पनि हालतमा सफल हुन दिनुहुँदैन भन्दै पूर्वप्रधानमन्त्रीहरूले सभामुखलाई समेत सचेत रहन आग्रह गरे’, स्रोतले भन्यो। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट पटकपटक संसद् विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको पराकाष्ठा भएको ठहर छलफलमा गरिएको थियो।

नागरिक