काठमाडौं, कात्तिक २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेपाल र भारतबीच रहेको सीमा विवाद समाधान गर्ने अहिले उपयुक्त समय रहेको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्तालगायतका स्थानमा रहेको सीमा समस्या समाधान गर्न नेपाल सरकारले तत्काल राजनीतिक तथा कूटनीतिक पहल गर्नुपर्ने बताए ।
सीमा समस्याबारे ठोस धारणा सार्वजनिक गर्नुपर्ने र नापी विभागमा उच्च मनोबल भएका दक्ष जनशक्ति राख्नुपर्नेमा उनको जोड थियो ।
नेता रावलले नेपालले पनि तत्काल आफ्नो नयाँ नक्सा निकाल्नुपर्ने बताए ।
उच्च राजनीतिक र कूटनीतिक पहलबाट समाधान गरिनुपर्छ : लेखक
कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले सो भूमि नेपालको भएकामा कुनै द्विविधा नभएको भन्दै उच्च राजनीतिक र कूटनीतिक पहलबाट समाधान गरिनुपर्ने बताए ।
कालापानी नेपालकै हो भन्ने सबै प्रमाण नेपालसँग : यादव
यस्तै, राजपा नेपाल अध्यक्षमन्डलका सदस्य महेन्द्र राय यादवले विवादित कालापानी नेपालकै हो भन्ने सबै प्रमाण नेपालसँग रहेको भन्दै सरकारले ढिला नगरी भारत सरकारसँग वार्ता गर्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्