Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


शेरमानले खिमविक्रमलाई सघाउने


0
Shares

बागलुङ, कात्तिक २४ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङ क्षेत्र नम्बर–२ ‘ख’मा ‘बागी’ उम्मेदवारी दिएका शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउन असफल भएको छ ।

उम्मेदवारी दर्ता गराएर बुर्तिबाङमा बसेका घर्तीलाई आइतबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइएपनि समयाभावका कारण उनको उम्मेदवारी फिर्ता हुन नसकेको हो ।

घर्तीलाई बुर्तिबाङबाट हेलिकोप्टरमा राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइपुर्‍याउँदा उम्मेदवारी फिर्ता गर्ने समय सकिएको थियो । जसका कारण उनले उम्मेदवारी फिर्ता लिन भ्याएनन् ।

शाहीलाई सघाउने

तर, आइतबारै पत्रकार सम्मेलन गरी घर्तीले आफूले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई सघाउने र आफ्ना लागि भोट नमाग्ने बताएका छन् ।

‘विशेष कारणवश उम्मेदवारी फिर्ता लिने समय सकिएकोले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको साझा वामपन्थी उम्मेदवारकोरुपमा रहनुभएका खिमविक्रम शाहीको पक्षमा पूर्णसमर्थन गर्दै मेरो स्वतन्त्र उम्मेदवारी नरहेको व्यहोरा जानकारी गराउन चाहन्छु’–पत्रकार सम्मेलनमा उनले भने । 

सो क्षेत्रमा सत्तारुढ दल नेकपाले जनमोर्चाका उम्मेदवार शाहीलाई सघाउने निर्णय गरेको छ ।

आउँदो मंसिर १४ गते हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उनले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका हुन् । घर्तीको प्रस्तावकमा ददिराम शर्मा र समर्थकमा रिमबहादुर विक छन् ।

ढोरपाटन नगरपालिका–९ का घर्ती लामो समयदेखि वामपन्थी राजनीतिमा क्रियाशील व्यक्ति हुन् ।

४९ वर्षीय घर्ती राष्ट्रिय जनमोर्चा परित्याग गरी तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएसँगै नेकपाका नेता बनेका उनले पुनः जनमोर्चालाई नै भोट हाल्नुपर्ने बाध्यता पीडाजनक भएको भन्दै उम्मेदवारी दर्ता गराएका थिए ।