काठमाडौं, कात्तिक २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन् ।
नेकपा काठमाडौं महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर शनिबार वसन्तपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताए ।
हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भू–भागमा समेटिएको सन्दर्भमा उनले नेपाली भूमिको अतिक्रमण कुनैपनि नेपालीले सहन नसक्ने उल्लेख गरे ।
‘लिम्पियाधुराबाट सुरु भएको महाकाली नदी नेपालको पश्चिमी सिमाना हो’–उनले भने–‘यसलाई एकपक्षीयरूपमा परिवर्तन गर्ने अधिकार भारत सरकारलाई छैन ।’
भारतको एक इन्च भूमि नेपाललाई नचाहिने र नेपालको एक इन्च भूमि पनि नछाडिने उनले प्रस्ट पारे ।
नयाँ सरकार बनेको एक वर्षको अवधिमा संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्दा जनताको आकांक्षाअनुसार काम हुननसकेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले अब विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे ।
उनले कमी–कमजोरीलाई सच्याएर प्रभावकारी ढंगबाट सरकारका काम–कारबाही अगाडि बढाउन सुझाव दिए ।
नेपाल संवत् सिंगो देशको संवत् भएको उल्लेख गर्दै नेता खनालले नेपाल संवत् नेपाली जनताको साझा सम्पत्तिकारुपमा रहेको बताए ।
‘नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत्कारुपमा मानेको छ’–उनले भने–‘यसलाई दैनिक जनजीवनमा प्रयोगमा ल्याउने अभियान चलाउनुपर्छ ।’
कार्यक्रममा महानगर कमिटी इन्चार्ज जीवनराम श्रेष्ठले नेपाल संवत्को व्यावहारिक कार्यान्वयनमा वर्तमान सरकार र नेकपाको पूर्णसाथ तथा सहयोग रहेको बताए ।
नेकपाका सचिवालय सदस्य वामदेव गौतम, कामपाका प्रमुख विद्यासुन्दर शाक्यलगायत नेकपाका नेता–कार्यकर्ताको उपस्थिति थियो ।
सो अवसरमा नेपाली कला, संस्कृति झल्कने बाजागाजा, नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो । रासस









प्रतिक्रिया दिनुहोस्