Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


सिमानामा सकस : ‘गुगल म्याप’ देखाउँदै थर्काउँछन् भारतीय


0
Shares

विराटनगर । इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो ।

गुगल म्यापमा निर्माणधीन क्षेत्र भारततर्फ पर्ने भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेका कारण तीन करोड रुपैया“ लागतमा बन्न लागेको आवास गृहको काम लथालिंग छ ।

मोरङको सीमावर्ती क्षेत्रमा बर्सेनि भारतीय अतिक्रमण प्रयास हुन्छ । केही महिनाअघि जहदा गाउँपालिका–१ कालामनिजरस्थित दसगजा मिचेर भारतीय पक्षले निर्माण गरेको सडक स्थानीयले विरोध गरेपछि दुवै देशका सीमा सुरक्षा अधिकारीको समन्वयमा समाधान गरिएको थियो।

भारतले बारम्बार नेपाली भूभाग मिचेर सडक निर्माण गरेको विवाद मोरङ जिल्ला प्रशासनमा आइरहन्छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सीमा क्षेत्रका विवादित विषय बर्सेनि मिलाउनुपरेको बताउँछन् । दसगजा क्षेत्रमा भारतीय नागरिकले घरसमेत बनाएर बसेका छन् ।

भारत र नेपालको सीमा क्षेत्रमा देखिने यी दुई प्रतिनिधि उदाहरण हुन् । भारतसँग सिमाना जोडिएका प्रदेश १ का ६ जिल्लामा भारतले नेपाली भूभाग मिच्ने र नेपालका गतिविधिमा हस्तक्षेप गर्ने क्रम बर्सेनि बढ्दो छ ।

सीमा जोडिएका तराईका जिल्लामा नेपालतर्फकै भूभागमा सडक बनाउने, भारतीय प्रहरीको चेकपोस्ट र टहर निर्माण गर्नेदेखि सीमानजिकै नेपालका विकास निर्माणमा अवरोध गर्ने क्रियाकलाप उच्च छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट